स्क्वासका राष्ट्रिय खेलाडी एवं सञ्चारकर्मी गाहामगरलाई बगनासकाली गाउँपालिकाको सम्मान

हिमाली आवाज । पाल्पाको बगनासकाली गाउँपालिकाले स्क्वासका राष्ट्रिय खेलाडी अर्जुन गाहामगर (सुशान्त)लाई सम्मान गरेको छ ।

पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्क्वास खेलमा लुम्बिनी प्रदेशको तर्फबाट कास्य पदक विजेता बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडाका गाहामगरलाई १३ औं गाउँसभाको अवसरमा सोमबार सम्मान गरिएको हो ।

गाहामगरलाई गाउँपालिकाका प्रमुख सरस्वती दर्लामी चिदीमगर, उपप्रमुख हरिप्रसाद पाठक र प्रमुख प्रशासकीय अधिकृत विष्णु धर्तीले ढाकाको टोली, दोसल्ला, नगद राशी तथा सम्मानपत्र अर्पण गर्नुभयो ।

सो अवसरमा बोल्दै गाउँपालिका प्रमुख सरस्वती चिदीले आगामी दिनमा थप सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो । उहााले प्रदेशको नेतृत्व गर्दै राष्ट्रियस्तरको प्रतियोगितामा पदक जित्नु गौरवपूर्ण इतिहास रहेको बताउदै अन्य खेलाडीहरुलाई प्रेरणा मिल्ने बताउनुभयो ।

‘हाम्रो गाउँपालिकाको खेलाडी जो लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गरेर राष्ट्रिय प्रतियोगितामा पदक जित्नु गौरवपूर्ण कुरा हो, उहााले भन्नुभयो, यहाँहरु जस्तो खेलाडीकै कारण उदीयमान खेलाडीहरुलाई थप प्रोत्सहान मिल्छ । आगामी दिनमा अझ उत्तरोत्तर प्रगतीको कामनासमेत व्यक्त गर्दछु ।’
पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्क्वास खेलमा टिम इभेन्ट तर्फ सम्मानित गाहामगरले लुम्बिनी प्रदेशको तर्फबाट प्रदेश नम्बर १ का धनबहादर घलेलाई ३–० को सोझो सेटमा पराजित गर्दै टिम इभेन्टतर्फ लुम्बिनीलाई कास्य पदक जित्नुभएको थियो ।

गाहामगर खेलसँगै पत्रकारितामा समेत सक्रिय हुनुहुन्छ । उहाँ पोखराबाट सञ्चालित सुनगाभा न्यूज डटकममा समाचार प्रमुखका रुपमा कार्यरत हुनुुहुन्छ भने एबिसी न्यूज टेलिभिजनका पोखरा संवाददाता भएर काम गरिरहनुभएको छ ।

Comments
Loading...