आहा ! रारा पोखरा गोल्डकप:भुटनिज युथ स्पोर्ट्स फाइनलमा

हिमाली आवाज । अमेरिकाको भुटनिज युथ स्पोर्टस क्लब(विवाइएससी) मिनेसोटा पोखरामा जारी ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा चर्च व्वाइज युनाइटेड फुटबल क्लब काठमाडौँलाई १—० गोलले हराउँदै विवाइएससीले फाइनलमा सङ्कटा क्लबसँगको भेट पक्का गरेको हो । सङ्कटा क्लब बुधबार सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पराजित गर्दै फाइनल पुगिसकेको छ ।

पहिलो हाफको अतिरिक्त समयमा विवाइएससीका रोजिन प्रजापतिले गरेको एकमात्र गोल टोलीलाई फाइनलमा पु¥याउन पर्याप्त रह्यो । प्रविन बस्नेतको क्रस पासलाई सदुपयोग गरी रोजिनले हेडरमार्फत गोल गर्नुभएको हो ।

खेलको ८४ औं मिनेटमा आशिष चौधरीले दोहोरो पहेलो कार्ड(रातो कार्ड) खाँदै मैदान छाडेपछि चर्च ब्वाईज दस खेलाडीमा सीमित भएको थियो । खेलको निर्धारित समयमा दुबै टोलीले गोलका केही सुन्दर मौका खेर फालेका थिए ।

खेलका निर्णायक गोलकर्ता प्रजापति ‘म्यान अफ दी’ म्याच घोषित हुनुभयो । प्रतियोगिताको फाइनल खेल शनिबार हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले रु १२ लाख र उपविजेताले रु छ लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने आयोजक सहाराका महासचिव रामजी प्रसाद अधिकारीले बताउनुभयो ।

यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर तथा उत्कृष्ट, डिफेण्ड, गोलकिपर, फरवार्ड, मिडफिल्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्ताले जनही रु २५ हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Comments
Loading...