हिमाली आवाज । नेपाल निर्माण व्यवसायी संघ कास्कीले आफ्नो ३६ औँ स्थापना दिवस आज विविध कार्यक्रम गरी मनाएको छ ।
स्थापना दिवसका अवसरमा राष्ट्रबैँकचोकस्थित संघको कार्यालय परिसरमा आयोजना गरिएको खुला रक्तदान कार्यक्रममा ३६ युनिट रगत संकलन भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष खिमप्रकाश मल्लले संघका अध्यक्ष लिलकाजी गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । रक्तसञ्चार केन्द्र पोखराको सहयोगमा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
त्यसैगरी संघले स्थापना दिवसका अवसरमा सामाजिक क्षेत्रमा क्रियाशील मानव सेवा आश्रमको भवन निर्माणका लागि रु २५ हजार आर्थिक सहयोग गरेको छ । संघका अध्यक्ष गुरुङले मानव सेवा आश्रमका प्रतिनिधि शोभा गौतमलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।
यसैगरी संघले आफ्नो भवनको तल्लो तलामा रहेको शौचालयलाई निःशुल्क रुपमा सार्वजनिक प्रयोगमा ल्याएको छ । पोखरा महानगरले सुरु गरेको निःशुल्क शौचालय अभियानलाई साथ दिन संघले योगदान गरेको हो ।
खुला रक्तदान कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष खिमप्रकाश मल्ल, संघका प्रमुख सल्लाहकार शिवशंकर गौचन, गण्डकी प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष टंकराज बराल, महसंघका केन्द्रीय सदस्य एवं निर्वतमान अध्यक्ष सुरेश श्रेष्ठ, सल्लाहकार मुक्तिप्रसाद तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।
संघका अध्यक्ष लिलकाजी गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुवर्ण श्रेष्ठले स्वागत र कार्यक्रम सञ्चालन सचिव इन्जिनियर शिरषकुमार बास्तोलाले गर्नुभएको थियो ।

