हिमाली आवाज । सत्तारुढ गठबन्धनबाट गण्डकी प्रदेशको सभामुखमा नेकपा(माओवादी केन्द्र)का कृष्ण प्रसाद धिताल उम्मेदवार बन्नुहुने भएको छ ।
नेकपा(माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलको आज साँझ बसेको बैठकले गोरखा क्षेत्र नं १(१) बाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित धिताललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सो दलका नेता एवं प्रदेश सरकारका विनाविभागीय मन्त्री हरिबहादुर चुमानले दलको बैठकले सर्वसम्मत उम्मेदवार तय गरेको जानकारी दिनुभयो ।
सत्ता गठबन्धनमा माओवादी केन्द्रले सभामुख पाउने निर्णय यसअघिनै भइसकेको छ । यहाँ नेकपा(एमाले)ले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी केन्द्रबाट भागवण्डा गरिएको थियो ।
सोही अनुसार नेकपा(एमाले)का संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर प्रदेशसभाबाट विश्वासको मत पाइसक्नुभएको छ । गण्डकीमा गबठन्धनका पक्षमा बहुमत रहेकाले गठबन्धनका उम्मेदवार विजयी हुने निश्चित छ ।
सभामुख चयनका लागि प्रदेश सभाको बैठक शनिबार अपराह्न ३ बजे बोलाइएको छ । प्रदेश सभाको शुक्रबारको बैठकमा प्रदेश सभाको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश सभामुख चयन गर्नका लागि शनिबार बैठक बोलाउनुभएको हो ।
प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवार टुङ्गो लगाईसकेको छैन । कांग्रेस संसदीय दलको बैठकले सभामुखको उम्मेदवार तय गर्ने जिम्मा दलको नेतालाई दिएको छ । साठी सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली काँग्रेसका २७, नेकपा(एमाले)का २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र स्वतन्त्र एक सदस्य हुनुहुन्छ ।

