नवौं राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडी सम्मानित

हिमाली आवाज । गण्डकी प्रदेशमा गत असोज अन्तिम साता आयोजना भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्चरी खेलमा पदक विजेता खेलाडी आज पोखरामा सम्मानित भएका छन् ।

गण्डकी प्रदेश आर्चरी सङ्घ, कास्की जिल्ला आर्चरी सङ्घ र अन्नपूर्ण आर्चरी क्लबले संयुक्त रुपमा पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको हो ।

पोखरामा असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत आर्चरी खेलमा गण्डकी प्रदेश सात स्वर्ण, चार रजत र एक कास्य पदक जित्दै च्याम्पियन बनेको थियो ।

पदक विजेता खेलाडीलाई साउथ एशियन तथा नेपाल आर्चरी सङ्घका अध्यक्ष दीपक गुरुङ, प्रदेश खेलकुद परिषद् गण्डकीका निमित्त सदस्य सचिव घनश्याम पौडेल लगायतले अविर, माला र सम्मानपत्रले सम्मान गर्नुभएको हो ।

कार्यक्रममा साउथ एशियन तथा नेपाल आर्चरी संघका केन्द्रीय अध्यक्ष गुरुङले गण्डकी प्रदेशमा आर्चरीको सुविधा सम्पन्न खेल मैदान रहेको भन्दै राष्ट्रिय टिममा पर्ने गरी तयारी गर्न खेलाडीहरुलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,“१९औं एशियन गेम्स सन् २०२३ को सेप्टेम्बर अन्तिम सातादेखि हुँदैछ, अव केही दिनमा राष्ट्रिय टिमको छनौट हुन्छ, टिममा पर्ने गरी मिहिनेत गर्नुहोला।”

प्रदेश खेलकुद परिषद्का निमित्त सदस्य सचिव पौडेलले दुई वर्षपछि कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदसँगै विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुको तयारीमा लाग्न खेलाडीहरुलाई आग्रह गर्नुभयो ।

Comments
Loading...