काठमाडौँ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवाका लागि सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली २०६५ को नियम ९ ले दिएको अधिकार प्रयोग गरी पहिलोपटक कार्यविधि बनाई लागू गरेको छ।
सबैलाई सबै ठाउँमा अवसर र अनुभव प्राप्त हुने गरी मन्त्रालयले ‘प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज गर्न खटाउनेसम्बन्धी कार्यविधि २०७९’ तयार पारी लागू गरेको हो। उक्त कार्यविधिअनुसार अब भने कुनै पनि सीडीओले आफ्नो गृहजिल्लामा सरुवा हुन पाउने छैनन्।
‘अब छिट्टै हुने सरुवा नै त्यही कार्यविधिमा टेकेर हुन्छ’, गृहसचिव विनोदप्रकाश सिंहले भन्नुभयो,‘सरुवालाई निष्पक्ष, पारदर्शी र व्यवस्थित गर्न कार्यविधि महत्वपूर्ण हुने विश्वास छ।’ यसअघि सरुवा बढुवामा राजनीतिक हस्तक्षप भएको भनी आरोप लाग्ने गरेको थियो।

