हिमाली आवाज । पोखरामा भोली आइतबारदेखी सुरु हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
नेपालको राष्ट्रिय खेल भलिबलको विकास गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्य सहित टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा प्रतियोगिता सञ्चालन हुनेछ ।
आयोजक टाइगर ग्रुपले आज पोखरा रङ्गशालामा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको सबै तयारी सकिएको जनाएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा महिलातर्फ न्यू डायमण्ड र नेपाल आर्मी भिड्ने टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार आइतबार मध्यान्ह पुरुषतर्फ त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपिएफ क्लबकाबीच खेल हुनेछ । तेस्रो खेल आयोजक पुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिसकाबीच हुनेछ ।
प्रतियोगितामा महिलातर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, सशस्त्र प्रहरीको एपिएफ क्लब, र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी, सेन्ट जोशेफ वाज स्पोर्टस् क्लब श्रीलङ्का, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, एपिएफ क्लब र आयोजक गण्डकी प्रदेशको टिमको सहभागिता रहने छ ।
प्रतियोगितालाई थप आकर्षक बनाउन र दर्शकलाई सहज खेल हेर्ने अवसर प्रदान गर्ने गरी यसपटक विशेष प्रकारको प्यारापिट निर्माण गरिएको र प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरको बनाउन ‘एलइडी स्क्रिन’ राखिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“ दर्शकहरुलाई सहज खेलको अवलोकन तथा मनोरञ्जन प्रदान गर्न अस्थायी प्यारापिट बनाएका छौं । वृद्ध–वद्धाहरुको लागि छुट्टै कुर्सीको व्यवस्था गर्नेछौँ ।”
आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशी दोब्बर बनाएकोे छ । महिला–पुरुष दुवैतर्फ च्याम्पियन टोलीलाई रु पाँच÷पाँच लाख र उपविजेता टिमलाई समान नगद रु दुई लाख ५० हजार पुरस्कार प्राप्त गर्ने प्रतियोगिता प्रचार प्रसार संयोजक इन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।
तृतीय हुने टोलीलाई रु एक लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्रदान गरिने छ ।

