हिमाली आवाज । यही माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा परी निधन हुनुभएका पोखराको ट्रेड मलका व्यवसायी जिवनकला (रिता) गुरुङको आज शोकसभा गरिएको छ ।
ट्रेड मल व्यवसायी परिवारका तर्फबाट गुरुङको पोखरा—२६ बुढीबजार स्थित निवासमा शोकसभा गरिएको हो । विमान दुर्घटनामा जिवनकला सहित उहाँका देवर पूर्णबहादुर गुरुङको पनि निधन भएको थियो । शोकसभामा व्यवसायीहरुका तर्फबाट नवराज त्रिपाठीले विमान दुर्घटनाको निष्पक्ष छानविन हुनुपर्ने माग गर्नुभयो । घटनाबाट ट्रेड मल व्यवसायी परिवार मर्माहत भएको त्रिपाठीले बताउनुभयो ।
उहाँले भन्नुभयो,“विमान दुर्घटनाले पोखरालाई मात्र होइन,सम्पूर्ण देशलाईनै शोकमा डुवाएको छ । यस घटनाको सत्य तथ्य छानविन गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन विमानस्थल, नेपाल नागरिक उड्डयन प्राधिकरण, विमान सञ्चालक कम्पनी तथा विमानका चालक तथा सहचालकहरु जिम्मेवार हुनुपर्दछ । हामी ट्रेड मल व्यवसायीका तर्फबाट सो माग गर्दछौँ । ”
विमान दुर्घटनामा निधन हुनुभएका व्यवसायी गुरुङले ट्रेड मलमा खुस्बु कुर्ता कलेक्सन सञ्चालन गर्दै आउनुभएको थियो । उहाँले ट्रेड मल सञ्चालन भएको वर्षदेखीनै व्यवसाय गर्दै आउनुभएको हो ।
पोखरा ट्रेड मलले व्यवसायी गुरुङको दुर्घटनामा परेर मृत्यु भएपछि माघ २ गते शोकमा ट्रेड मलका सम्पूर्ण व्यवसायिक प्रतिष्ठानहरु समेत बन्द गरेको थियो ।

