‘हिमालयन एक्सट्रिम ट्रायथलन’को उपाधि चेकरिपब्लिकका पिटर र अमेरिकाका तारालाई

हिमाली आवाज । विश्वकै कठिन मध्येमा मानिने ‘हिमालयन एक्स्ट्राई वल्र्ड टुर एक्सट्रिम ट्रायथलन’को उपाधि पुरुषतर्फ चेक रिपब्लिकका पिटर भाब्रोसेक र महिलातर्फ अमेरिकाका तारा मिरण्डा पार्सोन्सले जित्नुभएको छ ।

शनिबार विहान ४ः०० बजे पोखराको फेवातालमा पौडीबाट सुरु भएको सो प्रतियोगिता आज विहान कास्कीको माछापुच्छ«े गाउँपालिका—८ ल्वाङमा आएर समापन भएको हो ।त्यसक्रममा सहभागी खेलाडीहरु समुन्द्र सतहबाट चार हजार ३०० मिटर उचाइको मर्दी हिमालको भ्युप्वाइन्टसम्म पुगेका थिए ।

पुरुषतर्फ च्याम्पियन बन्नुभएका पिटरले फेवातालमा तीन किमी ८०० मिटर पौडी त्यसपछि १५० किमी साइक्लिङ र ४३ किमी दौड १६ घण्टा ५१ मिनेट १९ सेकेण्डमा पूरा गर्नुभएको हो ।

यसगरी इटालीका जिओभानी बोर्रटालासोले निर्धारित दूरी १७ घण्टा ५८ मिनेट आठ सेकेण्डमा पार गरी द्धितीय र रसियाका इलिया बब्लिकले निर्धारित दूरी पूरा गर्न १८ घण्टा ३४ मिनेट १२ सेकेण्ड समय लगाउँदै तृतीय हुनुभयो ।

महिलातर्फ उपाधि बिजेता मिरण्डाले निर्धारित दूरी पार गर्न १८ घण्टा २० मिनेट ५४ सेकेण्ड समय लगाउनुएको थियो । महिलातर्फ फ्रान्सका बेनेडिक पेरोनले १९ घण्टा ४९ मिनेट १९ सेकेण्डममा तोकिएको दूरी पार गर्दै द्धितीय स्थान हासिल गर्नुभयो । चेक रिपब्लिकका भेरोनिकाले २४ घण्टा २८ मिनेट २५ सेकेण्ड समय लगाउनुभयो ।

प्रतियोगितामा २२ देशका ३६ खेलाडी प्रतिस्पर्धा गरेको आयोजक हिमालयन एक्सट्राई नेपालका रेस डाइरेक्टर रिक्की योन्जनले जानकारी दिनुभयो । प्रतियोगिहरुले फेवातालमा पौडीको प्रतिस्पर्धा सम्पन्न गरेपछि १७५ किमी साइकल दौड सुरु गरेका थिए ।

पोखराको लेकसाईडबाट सुरु भएको साइकल दौड सराङकोट, लुम्ले, नयाँपुल, कुश्मा हुँदै बागलुङ पुगेर त्यहाँबाट पुनः फर्किएर कुश्मा, नयाँपुल हुँदै कास्कीको अन्नपूर्ण गाउँपालिका काँडेमा आएर साइक्लिङ सम्पन्न भएको थियो ।

त्यसपछि ४३ किमी लामो दौड सुरु भएको थियो । काँडेबाट सुरु भएको दौड अस्ट्रेलियन क्याम्प, देउराली, हाइ—क्याम्प, लोक्याम्प, मर्दी हिमाल भ्यू पोइन्ट (४३०० मिटर) छोएर सोही बाटो हुँदै फर्किएर माछापुच्छ«े गाउँपालिकाको ल्वाङमा समापन भएको योन्जनले बताउनुभयो ।
प्रतियोगितामा बेलायत, अमेरिका, अस्ट्रेलिया, नेदरल्याण्ड, ग्रिस, रसिया, चेक रिपब्लिक, इस्टोनिया, बङ्गलादेश, भारत लगायतका मुलुकहरुबाट पाँच महिला र ३१ जना पुरुष खेलाडी सहभागी थिए ।

विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ , गण्डकी प्रदेशका निर्वतमान सांसद दीपक कोइराला, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी लगायतले मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

ल्वाङमा आयोजित समापन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव घिसिङले साहशिक प्रतियोगिताले नेपाललाई विश्वभर चिनाएको बताउनुभयो ।

पर्यटन प्रवद्र्धनसँगै यस्तो खालको प्रतियोगितालाई संसारभरले चासो पूर्वक हेरिरहेको उहाँको भनाई छ । सदस्यसचिव घिसिङले भन्नुभयो,“ विश्वका टप खेलाडी नेपालमा आएर प्रतियोगितामा सहभागी भएकाले विश्वभर यहाँको बारेमा राम्रो सन्देश दिएको छ । ”

नेपाल ट्रायथलन सङ्घका केन्द्रीय अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले नेपालका लागि प्रतियोगिता अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो ।

“यो फरक प्रकारको खेलकुद प्रतियोगिता हो, यसमा खेलाडीहरुको अदम्भ साहस आवश्यक हुन्छ । हाम्रो जस्तो मुलुक विशेष गरी पोखरा शहर यो खेलका लागि सर्वश्रेष्ठ ठाउँ समेत हो । यसबाट नेपालको पर्यटन प्रर्वद्धनसँगै आर्थिक उन्नतिको मार्गचित्र कोर्न सफल भएको छ । ” श्रेष्ठले भन्नुभयो ।

Comments
Loading...