माओवादी केन्द्र गण्डकी संसदीय दलको प्रमुख सचेतकमा कुशुम

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा कुशुम बुढापुन चयन हुनुभएको छ ।

माओवादी संसदीय दलको मंगलबार बसेको बैठकले बाग्लुङबाट  निर्वाचित बुढालाई दलको प्रमुख सचेतक बनाउने सर्वसम्मत निर्णय गरेको दल नेता हरिबहादुर चुमानले जानकारी दिनुभयो ।

यसअघिका प्रमुख सचेतक रहनुभएका सुशीला सिँखडा प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्यमन्त्री नियुक्त हुनुभएपछि माओवादीले बुढालाई जिम्मेवारी दिएको हो ।

प्रमुख सचेतक बुढाले दल र सभामुखबीच समन्वय गरी प्रदेशसभामा दलको भूमिका प्रभावकारी बनाउने प्रतिवद्धता जनाउनुभयो । “सदनमा रहेका सबै दलहरुसँग आवश्यक छलफल गरी सदनको कामकारवाहीलाई प्रभावकारी बनाउन क्रियाशील हुनेछु । ”बुढाले भन्नुभयो ।

संसदीय दलको नेता र प्रमुख सचेतक चयन गरेपनि माओवादी केन्द्रमा दलको उपनेता र सचेतक चयन गर्न बाँकी रहेको छ । गण्डकी प्रदेशसभामा माओवादीका सभामुख सहित आठ सदस्य छन् ।

नेपाली काँग्रेसको नेतृत्वमा रहेको वर्तमान प्रदेश सरकारमा माओवादी केन्द्रले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य गरी दुई मन्त्रालय सहित सरकारमा सहभागी छ ।

Comments
Loading...