पोखराका पत्रकार बराललाई वातावरण पत्रकारिता पुरस्कार

हिमाली आवाज । पोखरामा वातावरणका क्षेत्रमा कलम चलाउँदै आउनुभएका क्रियाशील पत्रकार कृष्णमणि बराल वातावरण पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुहुने भएको छ ।

नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत साढे तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार–२०२२ बराललाई प्रदान गर्ने निर्णय गरेको छ । अन्नपूर्ण दैनिकमा पोखराबाट कार्यरत पत्रकार बराललाई नगद २५ हजार, प्रमाण–पत्र प्रदान गर्नेछ ।

समूहले प्रत्येक वर्षको जुन ५ (विश्व वातावरण दिवस) मा पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । सन् २०२२ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरु मध्येबाट छनौट गरी सान्दर्भिकता, मौलिकता, भाषा शैली र तथ्य–तथ्याङ्कक आधारमा मूल्याङ्कन गरेर यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।

पुरस्कारका लागि समूहले पत्रकारहरुलाई सन् २०२२ भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो । समूहका पूर्व अध्यक्ष राजेन्द्र दाहालको संयोजकत्वमा समूहका पूर्व माहासचिव रमेश भुषाल र विज्ञ सदस्य डा. हुम गुरुङ सम्मिलित तीन सदस्यीय निर्णायक मण्डलको शिफारिसका आधारमा पुरस्कारको निर्णय गरिएको हो ।

समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार–२०२२’ पाउने बराल ३६ औँ पत्रकार हुनुहुन्छ । यो पुरस्कार समूहको आगामी साधारणसभाको दिन हस्तान्तरण गरिने छ ।

Comments
Loading...