‘मीना सिर्जनशील पत्रकारिता पुरस्कार’बाट बिनु र तारा पुरस्कृत

हिमाली आवाज । नेपाल पत्रकार महासङ्घ कास्की शाखामा स्थापित ‘मीना सिर्जनशील पत्रकारिता पुरस्कार’द्वारा पोखरामा क्रियाशील दुई महिला पत्रकार पुरस्कृत भएका छन् । विसं २०७९ को सो पुरस्कार पत्रकार बिनुकुमारी थापा ‘बिनु’ र विसं २०८० को बालकुमारी पौडेल ‘तारा’ लाई प्रदान गरिएको हो ।

महासङ्घको सभाकक्षमा आज आयोजित पुरस्कार अर्पण समारोहमा गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले पत्रकारद्वयलाई नगद रु २० हजार एक सय ११ राशिसहित पुरस्कारको प्रमाणपत्र प्रदान गर्नुभयो ।

सो अवसरमा मन्त्री अर्यालले महिलाका लागि पत्रकारिता पेसालाई निरन्तरता दिनु चुनौतीपूर्ण भए पनि पछिल्लो समय पत्रकारिता क्षेत्रमा महिलाको प्रतिनिधित्व बढ्दै गएकामा खुसी व्यक्त गर्नुभयो ।समाज रूपान्तरणको अभियानमा पत्रकारको अग्रणी भूमिका रहने उल्लेख गर्नुभयो ।

मन्त्री अर्यालले प्रदेश सरकारले छिट्टै आमसञ्चार विधेयक ल्याउने बताउनुभयो । “संसदमा पेस भएर छलफलका लागि विषयगत समितिमा गएको छ, समितिमा व्यापक छलफल र सुझाव लिएर आवश्यक परिमार्जनसहित विधेयक पास गर्छौं”, उहाँले भन्नुभयो ।

समारोहमा पुरस्कृत पत्रकारद्वय थापा र पौडेलले पुरस्कारबाट पत्रकारितामा थप क्रियाशील हुन प्रेरणा मिलेको प्रतिक्रिया दिनुभयो । महासङ्घ कास्की शाखाका अध्यक्ष विमला भण्डारीले महिला र समावेशीकरणको मुद्दामा कलम चलाएबापत पत्रकारद्धयलाई पुरस्कृत गरिएको बताउनुभयो ।

उक्त पुरस्कार कोष गण्डकी प्रदेशसभाका पूर्वसदस्य तथा उद्यमी मीना गुरुङले स्थापना गर्नुभएको हो । पुरस्कृत पत्रकार थापा पोखरा टेलिभिजन र पौडेल पोखरा सिटी डट कममा आबद्ध हुनुहुन्छ । उक्त पुरस्कार हरेक वर्ष महिला पत्रकारलाई प्रदान गरिँदै आएको छ ।

कार्यक्रममा प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना, पुरस्कारका संस्थापिका मीना गुरुङ,पत्रकार महासंघका उपाध्यक्षद्धय रामप्रसाद तिमिल्सिना, जमुनावर्षा शर्मा र सहसचिव श्रीराम सिग्देलले पुरस्कार र पत्रकारिताका बारेमा भनाई राख्नुभयो ।

Comments
Loading...