हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले यही जेठ १० गते पोखरामा वृहद् जनसभा गर्ने भएको छ । माओवादीले हाल सञ्चालन गरिरहेको मध्यपहाडी जागरण अभियान अन्तर्गत पोखरामा सभा गर्न लागिएको हो । सो सभामा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) सहितको सिँगो पार्टी नेतृत्व सहभागी हुनेछ ।
सो सभाका लागि माओवादीको पोखरा महानगर समितिले मात्र पाँच हजार जनालाई सभामा सहभागी गराउने भएको छ । महानगर समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष हरिनारायण गिरी(विज्ञान)ले प्रचण्ड सहितको टोलीलाई पोखराको हेमजा मिलनचोकमा स्वागत सहित भेटघाट गर्ने र शनिबार बहृत् सहभागिता सहित जनसभा सम्पन्न हुने जानकारी दिनुभयो ।
पोखराको चिप्लेढुंगामा हुने उक्त कार्यक्रमलाई भव्य एवं सभ्य रुपमा सम्पन्न गर्न पोखराका ३३ वटै वडामा विभिन्न समितिहरु गठन गरी गरिएको अध्यक्ष गिरीले बताउनुभयो । यसैबिच, नेकपा माओबादी केन्द्र पोखरा महानगर सम्मेलन आगामी जेष्ठ २४ गते पोखरा सभागृहमा हुने भएको छ । जेठ २५ गते बन्द सत्र सहित छलफल हुने भएको सचिव जनकराज पराजुलीले बताउनु भयो ।

सम्मेलनमा पार्टी अध्यक्ष प्रचण्ड प्रमुख अतिथिको रूपमा सहभागी हुनेछन्। प्रतिनिधि छनोटका लागि प्रत्येक वडाबाट न्यूनतम ५ जना प्रतिनिधि र ३ जना पर्यवेक्षक, २० जना बराबर १ जना प्रतिनिधि पठाउने व्यवस्था गरिएको छ। प्रतिनिधि छनोटमा पार्टी विधान २०८० को भाग ७, धारा ३२(२) बमोजिम भूगोल, जनजाति, युवा, अल्पसंख्यक, एक दलित र एक महिला अनिवार्य समावेश हुनुपर्ने प्रावधान राखिएको छ। हालसम्म ५ हजार ५ सय ८० पार्टी सदस्यहरूको नवीकरण भएको र सम्मेलनमा ५ सय ५० प्रतिनिधि र ९९ पर्यवेक्षक सहभागी हुने भएको समितिले जनाएको छ । महानगर समितिमा नयाँ सदस्य मनोनयनको निर्णय समेत गरेकोे छ ।
वडा सम्मेलनबाट निर्वतमान हुनु भएका मनोज रसाइली (वडा ११), गोविन्द घिमिरे (वडा १२), निर्मल आचार्य (वडा १६), शालिकराम देवकोटा (वडा १७), निर्मल वास्तोला (वडा १९), पूर्णदिप सिग्देल (वडा २१), नवराज बराल (वडा २२), पुरुषोत्तम सुवेदी (वडा २४), मेघराज भण्डारी (वडा २६), यज्ञ प्रसाद तिवारी (वडा २८), लालबहादुर सुनार (वडा २९) र कृष्ण प्रसाद तिमिल्सेना (वडा ३१) लाई महानगर समिति सदस्यमा मनोनयन गरिएको छ ।
सम्मेलन तयारीका लागि व्यवस्थापन, आर्थिक, अतिथि सत्कार, प्रतिनिधि व्यवस्थापन, प्रतिवेदन लेखन, निर्वाचन सहजीकरण, सम्मान सिफारिस र स्वयंसेवक परिचालन उपसमितिहरू गठन गरिएको छ । यी उपसमितिहरूमा हर्कमान विश्वकर्मा, भानुभक्त अधिकारी, विमला पहारी, जनकराज पराजुली, निर्मला सुवेदी, शिवजी लामिछाने, अनिल परियार लगायतका नेताहरुलाई संयोजकको जिम्मेवारी दिइएको समितिले जनाएको छ ।