हिमाली आवाज । अन्नपूर्ण प्रथम हिमाल (८०९१ मी) आरोहणको ७५ वर्ष पूरा भएको छ । यस अवसरमा यस वर्ष हिरक महोत्सव मनाइने भएको छ । अन्नपूर्ण(नर्थ)को आधार शिविरमा पहिलोपटक कार्यक्रम गर्न लागिएको हो ।
सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृन्वले अन्नपूर्ण प्रथम हिमालयको सफल आरोहण गरेको थियो । हर्जोगसगै लुइस लचेनल र दुई नेपाली शेर्पा उक्त आरोहणमा सहभागी थिए ।नेपालमा आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी, अन्नपूर्ण गाउँपालिका म्याग्दीको व्यवस्थापनमा हिरक महोत्सव मनाउन लागिएको आज पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइयो ।

आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने भएकाले सोही स्थानमा हिरक महोत्सव मनाइने नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले जानकारी दिनुभयो । “हामीले पहिलोपटक आरोहण भएको सम्बन्धित स्थानमानै पुगेर कार्यक्रम गर्दैछौँ । यसबाट नेपालको पर्वतीय पर्यटनको थप प्रवद्र्धन हुनेछ ।” उहाँले भन्नुभयो ।महोत्सवमा फ्रान्सलगायतका युरोप–अमेरिका लगायत देशका १२ राजदुतलाई समेत निमन्त्रणा गरिएको बताइन्छ ।
नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा यही जेठ १७ देखि १९ गते सम्म पदयात्रा गरिने भएको छ । पदयात्रामा फ्रान्स र नेपालका विशिष्ट व्यक्तिहरुको सहभागिता हुने टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।
मौरिस हार्जोगका छोरा माथियास इमानुएल म्याक्सिमिलियन हार्जोग र उनका परिवार सहितको १४ सदस्यीय टोली नेपाल आइपुगेको छ ।
आधार शिविरबाट ३० किलोमिटर दूरीको म्याराथन दौड समेत आयोजना गरिएको अन्नपूर्ण गाउँपालिका म्याग्दीका अध्यक्ष भरतकुमार पुनले बताउनुभयो । उहाँका अनुसार आधार शिविरमा प्रथम आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको सालिक अनावरण गरिने छ ।
यस्तै आधार शिविरमा निर्माण भएको खुला संग्रहालय र नारच्याङबाट आधार शिविर जोड्ने पदमार्गलाई ‘मौरिस हर्जोग पदमागर्’ नामकराण गरिएको छ । उक्त पदमार्गको साथै सालिकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पुनले जानकारी दिनुभयो ।