हिमाली आवाज । पोखरामा जारी ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । प्रतियोगिता अन्तर्गत आज शुक्रबार सेमिफाइनलका खेल हुनेछन् ।सेमिफाइनलमा न्यु डायमण्ड र एपिएफ तथा पुलिस बिरुद्ध एभेरेष्ट क्लब भीड्ने आयोजक नेशनल स्पोट्र्स एकेडेमीका अध्यक्ष दीपक कोइरालाले बताउनु भयो ।
पोखरा रङ्गशालास्थित बहुउद्धेश्शीय कभर्ड हलमा बिहीबार सम्पन्न खेलमा विभागीय टोली सशस्त्र प्रहरी वलको एपिएफ क्लब र एभरेस्ट भलिबल क्लबले अन्तिम चारमा स्थान बनाएसँगै सेमिफाइनल खेल्ने टोलीको टुङ्गो लागेको हो ।यसअघि बुधबारको खेलबाट विभागीय टोली नेपाल पुलिस क्लब र न्यू डायमण्डले सेमिफाइनल पुगिसकेका छन् ।
प्रतियोगिताको बिहीबार समुह ‘ए’ को अन्तिम खेलमा एपिएफले पाल्पाको स्टेप रामपुर माथि ३–० को सोझो सेटमा जित निकाल्दै सेमिफाइनलमा यात्रा बनाएको हो । एपिएफले रामपुर माथि २५–६ र २५–६ र २५–७ को सोझो सेटमा सहज जित दर्ता गर्यो ।
यसैगरी दोस्रो खेलमा एभरेष्टले घरेलु टिम गण्डकी प्रदेश भलिवल सङ्घलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
एपिएफले फाइनल प्रवेश गर्न समूह ‘बी’ को विजेता न्यु डायमन्ड युथ स्पोट्र्स क्लबसँग प्रतिष्पर्धा गर्ने भएको छ । न्यु डायमन्डले गण्डकी प्रदेश भलिबल सङ्घ र एभरेस्ट भलिबल क्लबलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा यात्रा पक्का गरेको थियो ।

यसैगरी एभरेष्टले गण्डकीलाई २१–२५, २५–१४, २५–२२ र २५–१४ को सेटमा पराजित गर्दै पुलिससंग सेमिफाइनलमा यात्रा पक्का गरेको हो । पहिलो सेटमा जित हात पारेको गण्डकीले दोस्रो सेटबाट आफ्नो लय गुमाउदा प्रतियोगिताबाट बाहिरियो ।
नेपाली राष्ट्रिय महिला भलिवल टिमकी कप्तान अरुणा शाहीको कप्तानीमा नयाँ खेलाडीहरुको साथ मैदानमा उत्र्रिएको गण्डकीले अन्ततः केही वर्ष अघि राखेको साख बचाउन सकेन ।
लगातार दोस्रो हार बेहोरेको रामपुर भने प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा रामपुरलाई नेपाल पुलिस क्लबले सोझो सेटमा पराजित गरेको थियो । प्रतियोगिताको सेमिफाइलनका खेल बिहीबार सञ्चालन हुनेछ ।
नेपाल स्पोर्टस् एकेडेमीको आयोजनामा यही जेठ २७ गतेदेखी सुरु प्रतियोगिता जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको च्याम्पियन टोलीले रु छ लाख, उपविजेताले रु तीन लाख, र तेस्रो हुने टिमले रु एक लाख पुरस्कार प्राप्त आयोजक स्पोर्टस् एकेडेमीका अध्यक्ष दीपक कोइरालाले जानकारी दिनुभयो ।
यसैगरी उत्कृष्ट खेलाडीले रु २० हजार, तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूले जनही रु १० हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।