गण्डकी प्रदेश सरकारले ल्यायो ३२ अर्ब बजेट,पूर्वाधारमा सर्वाधिक

हिमाली आवाज । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि रु ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले आज प्रदेशसभामा उक्त रकमको बजेट प्रस्तुत गर्नुभयो ।आगामी वर्षका लागि कुल विनियोजित बजेट मध्ये चालुतर्फ रू १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रहेको छ ।

यसैगरी पूँजीगत तर्फ रू १९ अर्ब नौ करोड ३३ लाख २४ हजार रहेको छ । चालूतर्फ कूल विनियोजनको ३९ दशमलव पाँच प्रतिशत र पूँजीगततर्फ ५९ दशमलव सात प्रतिशत रहेको छ । यसैगरी वित्तीय व्यवस्थातर्फ रु २५ करोड विनियोजन गरिएको अर्थमन्त्री गुरुङले बताउनुभयो ।
बजेटमा खर्च ब्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रू सात अर्ब ७३ करोड ८९ लाख, राजस्व बाँडफाँटबाट रू नौ अर्ब ७९ करोड २९ लाख ४० हजार, रोयल्टी बाँडफाँटबाट रू ४९ करोड ८९ लाख ७७ हजार, रहेको छ ।

dयसैगरी सशर्त अनुदानतर्फ रू तीन अर्ब ३५ करोड ६४ लाख, समपूरक अनुदानतर्फ रू ६३ करोड ९७ लाख , विशेष अनुदानतर्फ रू ४९ करोड ८६ लाख र प्रदेशको आन्तरिक राजस्व रू पाँच अर्ब ४५ करोड ८४ लाख ८८ हजार तथा चालु वर्षको वार्षिक कार्यक्रम कार्यान्वयन पश्चात रू दुई अर्ब २४ करोड ५० लाख ९४ हजार नगद प्राप्त हुने अनुमान गरिएको अर्थमन्त्रीले गुरुङले बताउनुभयो ।

अर्थमन्त्री गुरुङले बजेटको स्रोतमा न्यून हुने रकम मध्ये रू एक अर्ब ७५ करोड आन्तरिक ऋणबाट पूर्ति हुने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

बजेटमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयलाई रु ११ अर्ब ९८ करोड नौ लाख आठ हजार, कृषि तथा भूमि व्यवस्था मन्त्रालयलाई रु दुई अर्ब ८ करोड ६७ लाख ५० हजार, उद्योग तथा पर्यटन मन्त्रालयलाई रु ८४ करोड २१ लाख ९३ हजार छुट्टाइको छ ।
वन तथा वातावरण मन्त्रालयको लागि रु एक अर्ब ६ करोड ५० लाख ४० हजार र सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयलाई रु दुई अर्ब ३९ करोड ५१ लाख ६७ हजार विनियोजन गरिएको छ ।

यसैगरी स्वास्थ्य मन्त्रालयलाई रु तीन अर्ब ३२ करोड ७० लाख ४० हजार, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका कार्यक्रमहरुका लागि रु तीन अर्ब ८८ करोड ८१ लाख तथा प्रदेश विपद् व्यवस्थापन कोषमा न्युनतम रु १० करोड मौज्दात रहने व्यवस्था मिलाइएको अर्थमन्त्री गुरुङले बताउनुभयो ।

Comments
Loading...