संविधान दिवस:पोखराको अन्तर्राष्ट्रिय झण्डा पार्कका झण्डा फेरियो

हिमाली आवाज । संविधान दिवसका अवसरमा आज पोखराको महेन्द्रपुलमा रहेको अन्तर्राष्ट्रिय झण्डा पार्कमा राखिएका विभिन्न देशका झण्डाहरु फेरिएका छन् ।
पोखरा महानगरपालिकाले स्थापना गरेको अन्तर्राष्ट्रिय झण्डा पार्कमा रहेका संयुक्त राष्ट्र संघका सदस्य एक सय ९५ देशका झण्डा फेरिएका हुन् ।कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले झण्डोत्तोलन समेत गर्नुभयो ।

पार्कमा नेपालको ठूलो राष्ट्रिय झण्डा र पोखरा महानगरको झण्डा समेत रहेको छ । महानगरले विभिन्न समारोहमा सोही स्थानमा झण्डोत्तोलन समेत गर्दै आएको छ ।महानरपालिकाले वर्षमा दुई पटक संविधान दिवस र प्रजातन्त्र दिवसका दिनमा झण्डा पार्कका झण्डा फेर्ने गरेको छ ।

कार्यक्रममा महानगर प्रमुख आचार्यले ठूलो त्याग र बलिदानबाट बनेको वर्तमान संविधान बचाउने दायित्व सबैको भएको बताउनुभयो । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलको कुशल भूमिकाबाट वर्तमान संविधान जोगिएको समेत बताउनुभयो ।

“ गल्ती कमजोरी सबैबाट भएका छन् । त्यसलाई ध्यान दिएर जेनजी पुस्ताको माग अनुसार सुशासन कायम गर्नु पर्छ । जेनजीको भ्रष्टाचार विरुद्धको आन्दोलनमा हाम्रो ऐक्यवद्धता छ ।” प्रमुख आचार्यले भन्नुभयो ।

संवैधानिक व्यवस्था अनुसार नागरिकहरूको नजिकको सरकारका रूपमा पोखरा महानगरपालिका नगरवासीहरूको चाहाना बमोजिम समुन्नत र समृद्ध पोखरा निर्माण गर्ने लक्ष्यका साथ अघि बढेको आचार्यले बताउनुभयो ।

महानगरको दिगो भविष्य निर्माणका लागि ‘समुन्नत पर्यटकीय पोखरा’ को दीर्घकालीन सोच र ‘समुन्नत पोखराको आधार सबल अर्थतन्त्र र पूर्वाधार’को नाराका साथ योजना र कार्यक्रमहरू कार्यान्वयन भइरहेको आचार्यले बताउनुभयो ।

Comments
Loading...