कर्मचारी बचत तथा ऋण सहकारीमा नयाँ नेतृत्व चयन

हिमाली आवाज । पोखरामा कार्यरत कर्मचारीहरुको अगुवाईमा सञ्चालित कर्मचारी बचत तथा ऋण सहकारी संस्थामा पदमबहादुर घिमिरे सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको छ । सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा छैटौं अधिवेशनबाट उपाध्यक्षमा सुरेशकुमार श्रेष्ठ, सचिवमा डिल्लीराम रेग्मी, कोषाध्यक्षमा गोपाल शर्मा निर्वाचित भएको निर्वाचन समितिका संयोजक रामजीप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
सहकारी सदस्यमा सुमन शर्मा, चित्रा ढकाल, केदार धमला र चन्द्रकला बस्नेत निर्वाचित हुनुभयो । सहकारीको लेखा सुपेरिवेक्षण समितिको संयोजकमा हेरम्ब शर्मा तथा लेखा समितिका सदस्यमा सीता बराल र धनराज पराजुली चयन हुनुभयो । सहकारीको ऋण उप समितिमा शिवराज बराल र रमेश पौडेल चयन हुनुभएको छ ।
सहकारीको साधारण सभा तथा अधिवेशन उद्घाटन गर्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका सचिव बासुदेव रेग्मीले आर्थिक कारोबार गर्ने सहकारीहरु दिनानुदिन कमजोर बन्दै गएको बताउनुभयो ।

उहाँले पारदर्शिता, ७ सिद्धान्तको मर्म, भावना र इमान्दारितालाई केन्द्रमा राखेर मात्र सहकारीहरु अघि बढ्नु पर्नेमा जोड दिनुभयो । सहकारीका अध्यक्ष महेशकुमार सिग्देलको अध्यक्षतामा भएको सभामा सचिव रेग्मीले सहकारीले मात्र होईन सिंगो कर्मचारीले वर्किङ मोडालिटी सुधार गर्न आवश्यक भएको बताउनुभयो ।

शिक्षा समितिका डिल्लीराम रेग्मीले सञ्चालन गरेको सभामा बद्री पौडेलले स्वागत गर्नुभयो । चित्रा ढकालले ७ सिद्धान्त वाचन गर्नुभएको थियो । सहकारीले एसईई, दशजोड दुई, उच्च शिक्षा प्राप्त गर्नेलाई शैक्षिक पुरस्कार, राम्रो कारोबार गर्नेलाई उत्कृष्ट कारोबारबाट सम्मान, उत्कृष्ट बचत सम्मान, ज्येष्ठ नागरिक सम्मान, उत्कृष्ट सदस्य सम्मान तथा बाल बचतलाई सम्मान गरेको सहकारीका प्रबन्धक तथा कार्यालय प्रमुख निरोज मल्लले जानकारी दिनुभयो ।

निजामति कर्मचारी युनियनको अगुवाइमा सञ्चालित सहकारीको १८ औं वार्षिक सभामा सहकारीका सल्लाहकार डार्विन लम्साल, सहकारीका विश्वराज आचार्य, रामजीप्रसाद कोइराला, सुरेन्द्रप्रसाद अधिकारी लगायतले भनाई राख्नुभयो ।
७ सय २५ जना सेयर सदस्य रहेको कर्मचारी बचत तथा ऋण सहकारीले १० करोड ३५ लाखको कुल कारोबार गर्दै आएको छ । ६ करोड बढी ऋण लगानी रहेको सहकारीमा ३ करोड ५४ लाख तरलता रहेको छ ।

Comments
Loading...