हिमाली आवाज । पोखराका ट्याक्सीले केही महिनादेखी प्रविधिलाई अनुसरण गरेका छन् । मुभ इन एपबाट यहाँका ट्याक्सी चल्न सुरु गरेका छन् । पोखरेली ट्याक्सी सेवा प्रालि अन्तर्गत दुई हजार दुई सय ट्याक्सी आवद्ध छन् । प्रालिले मुभ इनबाट चल्न आग्रह गरेपनि सबै ट्याक्सी चालक जोडिएका छैनन् । अब सबै ट्याक्सीलाई प्रविधि अनुसार एपमा चल्न पुन आग्रह गरिएको छ ।
पोखरेली ट्याक्सी सेवा प्रालिको पोखरामा बिहीबार सम्पन्न वार्षिक साधारणसभामा सबै चालकहरुलाई प्रविधिको अनुसरण गरी एक महिनाभित्रमा अनिवार्य गर्न आग्रह गरिएको हो ।
प्रालिको साधारणसभाको उद्घाटन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले व्यवसायी प्रविधिको कहिल्यै पनि विरोधी नभएको कुरा पुनः दोहोराउनुभयो । “हामी कहिल्यै पनि एपको विरोधी थिएनौँ । निजी सवारीले यात्रु बोक्न नपाउने कानुनी व्यवस्थाको मात्र कुरा गरेका हौँ । हामी सरकारको सहयोगी हात हौँै ।” स्वाँरले भन्नुभयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौला(सरोज)ले प्रालिको आफ्नै एप मुभ इन चलाइदिन सबै ट्याक्सी चालकहरुलाई आग्रह गर्नुभयो । उहाँले १५ देखी एक महिनाभित्रमा सबै ट्याक्सी एपमा आवद्ध हुन समेत निर्देशन दिनुभयो । सिटौलाले भन्नुभयो,“तपाइहरु सबै प्रविधिमा गइदिनुहोस्, हामीले सुरु गरेको मुभ इन चलाइदिनुहोस् । बरु मिटर हटाइदिँदा हुन्छ ।” उहाँले सरकारले यातायात क्षेत्र छिन्नभिन्न पारेको समेत आरोप लगाउनुभयो ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष एवं पृथ्वीराजमार्ग बस कम्पनी प्रालिका अध्यक्ष एनकुमार साइले विदेशी एप नचलाउन र स्वदेशी जनशक्तिले बनाएको स्वदेशी एपमात्र प्रयोग गर्न आग्रह गर्नुभयो । महासंघका सचिव भानुभक्त बरालले व्यवसायीक एकतामा जोड दिनुभयो ।
महासंघको ट्याक्सीतर्फका बर्गीय संयोजक प्रकाशमणि तिवारीले ट्याक्सी चालकहरुनै ठगिएको अवस्था रहेको बताउनुभयो । उहाँले पेशालाई मर्यादित बनाउनुपर्ने बताउँदै व्यवसायीले समेत दोहोरो चरित्र प्रस्तुत नगर्न चेतावनी दिनुभयो ।
स्थानीय यातायात प्रालिका अध्यक्ष केदार पौडेलले ट्याक्सी व्यवसाय मर्र्यादित पेशाका रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो । उहाँले व्यवसायी एकता र मर्यादामा जोड दिनुभयो ।
पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले सरकारले यातायात व्यवसायीको लगानीको सुरक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले प्रविधि अनुसार चल्न पोखरेली ट्याक्सी प्रालिमा आवद्ध सबै ट्याक्सीका चालकहरु तयार रहेको बताउनुभयो । प्रालिका सचिव युवराज भट्टराईले निजी क्षेत्रलाई हतोत्साहित नबनाउन र यातायात व्यवसायीका मागहरु सरकारले पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।
साधारणसभाका अवसरमा असल चालक, उत्कृष्ट कर्मचारीतथा एसइइी परीक्षामा उत्कृष्ट अंक ल्याउने व्यवसायीका छोराछोरीलाई नगद सहित सम्मान गरिएको थियो ।
साधारणसभाले प्रालिको आव ०८१।०८२ को वार्षिक प्रतिवेदन, लखो परीक्षण प्रतिवेदन तथा आव २०८२।०८३ को लागि विनियोजित बजेट तथा कार्ययोजना प्रतिवेदन समेत पारित गरेको निमित्त कार्यालय प्रमुख कृष्ण देवकोटाले हिमाली आवाजलाई जानकारी दिनुभयो ।


