उद्योगी÷व्यवसायीको मनोवल उकास्न भोलीदेखी पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला

हिमाली आवाज  । लगानीको नयाँ सम्भावनाको खोजी गरी गण्डकी प्रदेशको अर्थतन्त्र चलायमान बनाउने उद्धेश्यले पोखरामा यही मङ्सिर १७ गतेदेखी राष्ट्रिय औद्योगिक व्यापार मेला र सूचना प्रविधि मेला हुँदैछ ।

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा ‘लगानीको सम्वद्र्धन र उद्योग व्यवसायको प्रवद्र्धन’ को नारा सहित पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा आयोजना हुने ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२,पोखरा’को तयारी पूरा भएको छ ।

संघका अध्यक्ष गोकर्ण कार्कीले सोमबार मेलास्थलमा आयोजित पत्रकार सम्मेलनमा तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
मेला मङ्सिर २१ गतेसम्म चल्नेछ । अध्यक्ष कार्कीले जेन–जी आन्दोलनको क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणपछि खल्बलिएको व्यावसायिक वातावरण पुनः पुरानै अवस्थामा फर्काउनका लागि मेला आयोजना गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“ जेनजी आन्दोलनपछि नीजि क्षेत्र संकटमा छ । उद्योगी÷व्यवसायीको मनोवल बढ्न सकेको छैन । मेलाका माध्यमबाट अर्थतन्त्र चलायमान बनाउने तथा व्यवसायीको मनोवल वृद्धि गरी लगानीका नयाँ सम्भावनाको खोजी गर्ने उद्धेश्य राखेका छौँ ।”
मेलामा सूचना प्रविधिका नयाँ उत्पादनदेखि घरायसी सामान, स्वदेशी हस्तकला र महिला उद्यमीका उत्पादन,अटो र औद्योगिक उत्पादनहरु रहने छन् ।
अध्यक्ष कार्कीले भन्नुभयो,“उद्यमशीलता र व्यावसायिक वातावरण निर्माणको लागि नीतिगत पैरवी गर्ने गरी हामीले मेलास्थलमै कृषि,पर्यटन,सरकारले अगाडि ल्याएका आर्थिक नीतिबारे बहसमूलक कार्यक्रम पनि संचालन गर्दैछौँ ।” संघले विसं २०४२ देखिको मेला गर्दै आएको छ ।
अध्यक्ष कार्कीले मणिपाल अस्पतालको साथले पोखरालाई शिक्षा,स्वास्थ्य,पर्यटन र कृषिको सहरको रुपमा विकास गर्नुपर्छ भन्ने हाम्रो मान्यता अनुसार पोखरा स्वास्थ्य पर्यटनको केन्द्र अनि स्वास्थ्य लाभ गर्न चाहनेको गन्तव्य बन्न सक्छ भन्ने प्रमाणित भएको समेत बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ र महासंघको गण्डकी प्रदेश संरक्षक रहेको मेलामा पोखरा महानगरपालिका मुख्य प्रवद्र्धक रहेको छ भने गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड प्रवद्र्धकको भूमिकामा छन् ।

पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा मानार्थ सदस्य एवं नेपाल मणिपाल अस्पतालका लियाजन अफिसर कृष्णमोहन श्रेष्ठले नेपालकै पुरानो संस्थागत मेलासँग मणिपालको सहकार्यले पोखरालाई स्वास्थ्यको केन्द्र बनाउन विशेष योगदान दिने आशा व्यक्त गर्नुभयो ।

क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले मेलामार्फत् नयाँ युगको आवश्यकता संवोधन गर्ने प्रयत्न गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“मेलामा सूचना प्रविधि क्षेत्रमा पछिल्लो समय बजारमा आएका उत्पादनहरु प्रदर्शनीमा राखिने छन् । मेलास्थलबाट सूचनाप्रविधि सम्बन्धी नविन जानकारी दिनेछौँ ।”
पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमले यस क्षेत्रको समग्र पर्यटन प्रवद्र्धन,औद्योगिक उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट गराउने महान उत्सव व्यापार मेला भएको बताउँदै यस क्षेत्रको मौलिक संंस्कृति प्रदर्शन गरिने जानकारी दिनुभयो ।

Comments
Loading...