पोखरामा राष्ट्रिय औद्योगिक व्यापार र सूचनाप्रविधिमेला सुरु

हिमाली आवाज । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा बुधबारदेखि पोखरा ९,नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२,पोखरा’ सुरु भएको छ । ५ दिनसम्म चल्ने मेलाको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्नुभयो ।

उद्घाटनको क्रममा उहाँले नेपालमा केही हुँदैन भन्ने भाष्य चिर्न जरुरी रहेको पनि बताउनुभयो ।नेपालकै पूँजीले पनि धेरै ठूला आयोजना बनाउन सकिने बताउँदै त्यसका निम्ति नेपाल उद्योग वाणिज्य महासंघले १० अर्ब पूँजीको लगानी कम्पनी बनाएको बताउनुभयो।

‘हाम्रै पूँजीबाट ठूलो लगानी गर्न सकिन्छ । महासंघले बनाएको कोषबाट कुनै व्यवसायीले सुरु गरेको व्यवसायमा थप लगानी गर्न पनि मिल्छ, नयाँ उद्यमीहरुलाई लगानी जुटाइदिने काम पनि हुन्छ,’उहाँले भन्नुभयो,‘ नेपालमा ठूला पूर्वाधार बनाउनका लागि नेपाल डेभलपमेन्ट पब्लिक (एनडिपी) बनाइएको जानकारी दिए । एनडिपीकै माध्यमबाट धेरै व्यवसायी समेटेर नेपालकै पूँजी परिचालन गरी ५० अर्बका प्रोजेक्ट बनाउन थालिएको छ ।’
स्थानीय कच्चा पदार्थको प्रयोग, स्थानीय उत्पादनलाई बढावा दिँदामात्र अर्थतन्त्र उकासिने पनि बताउनुभयो । जेन–जी आन्दोलनको क्रममा व्यवसायीमाथि भएको आक्रमणको निन्दा गर्दै उहाँले त्यसमा संलग्नहरुलाई कारवाहीको लागि महासंघले प्रधान र गृहमन्त्रीसँग विशेष पहल गरेको दाबी पनि गर्नुभयो । महासंघले निजी क्षेत्रलाई सुरक्षा प्रबन्ध गर्नका निम्ति जिल्ला–जिल्लामा रहेको सुरक्षा समितिमा निजी क्षेत्रको प्रतिनिधित्व गराएको पनि उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले भागबण्डाको संस्कारले देश नबन्ने जिकिर गर्दै आगामी निर्वाचनमार्फत् एउटा दलले बहुमत ल्याइदिए हुने आशय व्यक्त गरे । चुनावका निम्ति सम्पूर्ण दलहरु तयार हुनुपर्ने र त्यसका निम्ति निजी क्षेत्रले पनि दबाब दिनुपर्ने उहाँको भनाई थियो ।
देशमा चुनाव नहुँदा अस्थिरता अझै बढ्ने तर्क गर्दै उहाँले भन्नुभयो,‘चुनाव भएन भने फेरि देश कसले सम्हाल्ने, फेरि सेना गुहार्नुपर्ने हो, त्यसैले जनताको मत लिइ सरकार बनाउने दिशातर्फ दलहरुले तयारी थाल्नुपर्छ ।’ चुनावपछिमात्र कर्मचारी संयन्त्र, संविधान बदल्नेबारे छलफल चलाउन पनि दलहरुसँग आग्रह गर्नुभयो ।
‘यही संरचना र आर्थिक प्रणालीले देश बन्दैन, धनी झन धनी र गरीब झन गरीब हुने अवस्था आउँछ । यसमा सुधार हुनैपर्छ । कर्मचारी प्रशासनमा पनि सुधार जरुरी छ । हामी कतिञ्जेलसम्म अनियमितता र अव्यवस्थाको भूमरीमा पर्ने हो भन्नेबारे सोचौँ र यसबाट बाहिर निस्कने माध्यम चुनाव भएको बुझौँ ।’ मुल्मीले भन्नुभयो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थलबारे प्राविधिक छानबिन गर्न बनेको समितिको प्रतिवेदन अनुसार काम गर्नुपर्ने पनि बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले उद्योग स्थापना र रोजगारी सिर्जनाका निम्ति निजी क्षेत्रले पहल गरिरहेको तर निजी क्षेत्रसँग कुममा कुम मिलाएर राजनीतिक दलहरु हिँड्न नसक्दा देशमा जेन–जी आन्दोलन भएको बताउनुभयो ।‘हामीले बैंकबाट ऋण लिएका छौँ, लगानी गरिसकेका छौँ र हामी हतोत्साही हुन मिल्दैन,’उहाँले भन्नुभयो ।
कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले भयरहीत वातावरणमा स्वच्छ तवरले तोकिएकै समयमा संघीय संसदको निर्वाचन निजी क्षेत्रको चाहना भएको बताउनुभयो । निर्वाचन होस् भन्ने निजी क्षेत्रको चाहना हो । चुनावी वातावरण निर्माणको लागि निजी क्षेत्र सरकारको साथमै छ ।
‘हामी जनताको मतमार्फत् आफूलाई प्रमाणित गर्ने सुनौलो अवसरको उपयोग गर्न राजनीतिक दलहरुलाई हार्दिक अनुरोध गर्दछौँ । तर, चुनावकै नाममा देशको अर्थतन्त्र खल्बल्याउने, निजी क्षेत्रलाई यो वा त्यो बहानामा दुःख दिने काम नहोस् भन्नेमा पनि सरकारको ध्यान पुगोस् भन्ने हाम्रो माग रहेको छ । खुलेर भन्दा–चुनाव वा आन्दोलनको नाममा निजी क्षेत्रमाथि चन्दा आतंक नथोपरियोस् । उहाँले भन्नुभयो।
े जेन–जी आन्दोलनको क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणको निन्दा गर्दै आपराधिक गतिविधिलाई यो वा त्यो बहानामा छुट दिन नमिल्ने र त्यस्ता व्यक्तिमाथि कानूनी कारवाही हुनुपर्ने बताउनुभयो ।
‘जेन–जी कै भावनासँग नजिक रहेको नेपालको निजी क्षेत्रमाथि भदौ २४ गते एकाएक हमला भयो । छानी–छानी, ताकी–ताकी सयौँलाई रोजगारी दिने, देशको अर्थतन्त्रलाई राजश्वमार्फत् योगदान दिने र देशमै बसेर केही गरौँ भन्नेहरुको सम्पत्ति जलाइयो, लुटपाट गरियो । त्यो दिन उद्योगी÷व्यवसायीहरुले ज्यान जोगाउनै मुस्किल प¥यो । जेन–जीको नाममा भएको भदौ २४ को त्यो आपराधिक घटनाले हामी त पीडित भयौँ–भयौँ ।व्यापार÷व्यवसायमै होमिन आँटेका हाम्रा छोरा पुस्ताहरुले पनि अब यहाँ बस्दैनौँ, विदेश जान्छु भन्न थालिसके । हामी त्यो घटनालाई बिर्सन चाहन्छौँ । हाम्रा छोरा–नातिलाई यही देशमा केही गर्नुपर्छ भनेर थम्थम्याउँछौँ । तर, एउटा सर्त छ– त्यस आपराधिक घटनामा संलग्नमाथि कारवाही हुनैपर्छ । शान्ति–सुव्यवस्था कायम हुनैपर्छ र यस्ता घटना पुनः नदोहोरिने वातावरण निर्माण हुनुपर्छ । मुख्य कुरा–व्यापार व्यवसाय गर्र्नु,रोजगारी सिर्जना गर्नु र थोरबहुत पैसा कमाउनु भनेको अपराध हो भन्ने भाष्यलाई निस्तेज पार्नुपर्छ ।’ उहाँले भन्नुभयो ।
कोरोला नाकाको संचालन, कोरोला–त्रिवेणी र सिद्धार्थ राजमार्गको स्तरोन्नति, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सुनिश्चितताको लागि पहल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले कास्कीका अध्यक्ष वैनबहादुर क्षेत्रीले राजनीतिक दलहरुको आर्थिक समृद्धि र रोजगारी सिर्जनालाई मूलमन्त्र बनाउँदै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निजी क्षेत्रलाई सुरक्षा दिन कास्की प्रशासन तयार रहेको बताउनुभयो ।
नेपाल मणिपाल अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल अडुविलले पोखराले स्वास्थ्य पर्यटनबाट ठूलो लाभ लिनसक्ने बताउँदै पूर्वाधार र सेवामा मणिपालले ठूलो लगानी गरेको बताउनुभयो ।
पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष दीनेशचन्द्र बास्तोलाको धन्यवाद तथा महासचिव शोभा गौतमको स्वागत रहेको कार्यक्रममा बोल्दै बागलुङ उद्योग वाणिज्य संघका राजन शाक्यले उद्यमशीलताले नै मान्छेलाई सफल बनाउने भएकाले कामलाई सानो–ठूलो नभन्न आग्रह गर्नुभयो ।
क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले नयाँ युगमा नयाँ प्रविधिको प्रयोगबाट व्यावसायिक सफलता मिल्ने भएकाले नयाँ प्रविधिलाई उपयोग गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले मेला र महोत्सवहरु अर्थतन्त्र चलायमान बनाउन फलदायी भएको धारणा राख्दै निजी क्षेत्रले सामाजिक उत्तरदायित्ववोध पनि गर्नुपर्ने बताउनुभयो ।
पोखरा उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघ र महासंघ गण्डकी प्रदेशको संरक्षकत्व, गण्डकी प्रदेश सरकार,पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा विभिन्न व्यावसायिक प्रतिष्ठानको सहयोगमा मेला आयोजना गरेको हो । मेलामा सूचना प्रविधिदेखि घरायसी सरसामान, लत्ताकपडालगायतका १६० वटाभन्दा बढी स्टल रहेका छन् । मेलाका प्रचार–प्रसार उपसमिति संयोजक मनोहरि पौडेलका अनुसार बिहीबारबाट मेलामा हरेक दिन सांस्कृतिक कार्यक्रम पनि राखिएको छ भने प्रवेश निशुल्क गरिएको छ ।

 

Comments
Loading...