पोखरामा विजुलीको अत्यधिक माग:सवस्टेशनको बसबार स्तरोन्नति रोकियो

हिमाली आवाज । पोखराको कुँडहरमा रहेको नेपाल विद्युत प्राधिकरणको कुँडहर सवस्टेशनको बसबार स्तरोन्नति कार्य रोकिएको छ ।

सो कार्यका लागि आजदेखी पुस २१ गतेसम्म दैनिक पाँच घण्टा विजुली आपूर्ति बन्द हुने कार्यतालिका रहेपनि प्रतिकुल मौसमका कारण विजुलीको माग बढ्न गएर फिडरहरुमा समस्या भएपछि केही दिनका लागि स्तरोन्नति कार्य रोकिएको पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार पोखरामा एकदुई दिन यताको चिसो मौसमका कारण विजुलीको माग बढेर पावर ट्रान्सफर्मरमा पनि ओभर लोड भएर समस्या आएको छ ।
“कुँडहरको एक सय ३२ केभी बसबारको आज विहान स्तरोन्नति गरेपछि लाईन सुचारू गर्दा प्रतिकूल मौसमको कारण अत्यधिक लोड बृद्धि भएर फिडरहरुमा समस्या आयो । त्यस कारणले हाललाई सो कार्य केही दिनको लागि स्थगन गरिएको हो । मौसम अनुकुल भएपछि कार्यतालिका प्रकाशित गरी सो कार्यहरू पुनः सुरु गर्नेछौँ ।” केन्द्र प्रमुख यादवले भन्नुभयो ।

विद्युत प्राधिकरणको पोखरा ग्रीड महाशाखा अन्तर्गत रहेको कुँडहर सवस्टेशनमा बसबार स्तरोन्नति कार्यका लागि विहान ६ः०० बजेदेखी ११ः०० बजेसम्म चार दिनसम्म पोखराको सम्पूर्ण क्षेत्रमा विजुली आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको थियो ।

Comments
Loading...