हिमाली आवाज । नेपाली कांग्रेसको दोस्रो महाधिवेशनबाट नवनिर्वाचित गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्य समितिले विवरण अद्यावधिकका लागि निर्वाचन आयोगमा विवरण पेस गरेको छ ।
सभापति थापाको नेतृत्वमा नवनिर्वाचित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरु आज आयोगको केन्द्रीय कार्यालय बहादुर भवन पुगी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम केन्द्रीय कार्य समितिका पदाधिकारी हेरफेर भएको विवरण पेस गरेका हुन् ।
विवरण पेस गर्दै सभापति थापाले विशेष महाधिवेशनले गरेका निर्णय, पारित गरेका दस्ताबेज र नवनिर्वाचित केन्द्रीय कार्य समितिको विवरण पेस गरिएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो । विशेष महाधिवेशनले सभापतिसहित सिङ्गो केन्द्रीय कार्य समिति नै परिवर्तन गरिएको विवरण पेस गरिएको उहाँले बताउनुभयो ।
विवरण बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापा नेतृत्वको नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी फुटेको नभई विधानअनुसार विधिवत् भएको विशेष महाधिवेशनले नयाँ केन्द्रीय कार्य समिति सर्वसम्मत रुपमा निर्वाचित गरेको जानकारी दिनुभयो । त्यही विवरण अद्यावधिक गर्न पार्टी केन्द्रीय कार्य समितिका पदाधिकारी र केन्द्रीय सदस्यहरु आयोग आएको उहाँले सुनाउनुभयो ।
थापा नेतृत्वको नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गुरुराज घिमिरेले आयोग आउनुअघि बसेको केन्द्रीय कार्य समितिको बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनमा टिकट वितरण गर्ने प्रयोजनका लागि संसदीय समिति एवं बोर्ड गठन गर्ने निर्णय भएको बताउनुभयो । निर्वाचनका लागि पार्टीको घोषणापत्र मस्यौदा गर्न सभापति थापाको नेतृत्वमा अर्को समिति गठन भएको उहाँले बताउनुभयो ।

