पोखरामा भोलीदेखी ‘टाइगर कप’राष्ट्रिय÷अन्तर्राष्ट्रिय भलिबल

हिमाली आवाज । पोखरामा यही माघ ९ गतेदेखी सञ्चालन हुने ‘टाइगर कप’राष्ट्रिय÷अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

आयोजक टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा खेल सञ्चालन हुनेछ । आयोजकले आज पोखरा रंगशालामा पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको छ ।प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टिमले प्रतिष्पर्धा गर्ने आयोजक संस्थाका अध्यक्ष नारायण शर्माले बताउनुभयो ।

प्रतियोगितामा महिलातर्फ तीन विभागीय टोली नेपाल प्रहरीको नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब तथा टिपटप न्यू डायमण्ड युथ स्पोर्टस क्लब र थाईल्याण्ड क्विन्स थाईल्याण्डले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी पुरुषतर्फ विभागीय टोली नेपाल प्रहरीको नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब तथा पर्वत जिल्ला भलिबल संघ र मालदिभ्स भलिबल एशोसियसनले प्रतिस्पर्धा गर्ने अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्घाटन खेलमा महिलातर्फ न्यू डायमण्ड र त्रिभूवन आर्मी क्लब आमनेसामने हुनेछन् । पुरुषतर्फ त्रिभूवन आर्मीले मालदिभ्स भलिबल एशोसियसनको सामना गर्नेछ । यसैगरी भोलीको तेस्रो खेलमा घरेलु टिम गण्डकी प्रदेश भलिबल संघले सशस्त्र प्रहरीको एपीएफसँग खेल्नेछ ।
यही माघ १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा महिला तथा पुरुष टोलीले समान रु छ लाख ६६ हजार ६६६, ट्रफी र मेडल पुरस्कार प्राप्त गर्नेछन् । उपविजेताले नगद रु तीन लाख ६६ हजार ६६६ तथा तेस्रो हुने टोलीले नगद रु एक लाख ६६ हजार ६६६ प्राप्त गर्ने आयोजक टाइगर ग्रुपका सचिव डिवी नेपालीले जानकारी दिनुभयो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद रु २६ हजार ६६६ प्राप्त गर्दा अन्य विद्यागत महिला तथा पुरुष उत्कृष्ट हुने खेलाडीले समान नगद रु ११ हजार ६६६ का साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पाचौं संस्करणको टाइगर कपमा पुरुषतर्फ नेपाल पुलिस क्लबले जितेको थियो भने महिलातर्फ आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो । प्रतियोगिताले राष्ट्रिय खेल भलिबलको विकासका साथै देशका लागि आवश्यक समक्ष भलिबल खेलाडी उत्पादन गर्ने विश्वास आयोजकले लिएको छ ।

Comments
Loading...