हिमाली आवाज । राष्ट्रियसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत गण्डकी प्रदेशबाट ‘अन्य समूह’मा नेपाली काँग्रेसका जगत तिमिल्सिना र ‘महिला समूह’मा नेकपा(एमाले)का उम्मेदवार सम्झना देवकोटा विजयी हुनुभएको छ ।
पोखरामा आज सम्पन्न मतदानमा तिमिल्सिनाले पाँच हजार ३३ मतभार सहित विजयी हुँदा उहाँका निकटतम प्रत्याशी नेपाली कम्युनिष्ट पार्टीका कपिल लामाले नौ सय ४१ मतभार पाउनुभयो । यस समूहमा राष्ट्रिय जनमोर्चाका शंकर प्रसाद बरालले ७६ मतभार पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी महिला समूहमा एमालेका देवकोटाले पाँच हजार १४ मतभार पाउनुभयो । नेपाली कम्युनिष्ट पार्टीका गोमा लुकइटेल घिमिरेले नौ सय ४१ मतभार पाउनुभएको थियो । राष्ट्रिय जनमोर्चाका लक्ष्मी बास्कोटाले ७६ मतभार पाउनुभयो ।राष्ट्रिय सभा चुनावका लागि गण्डकी प्रदेशमा नेपाली काँग्रेस र नेकपा एमालेले साझा उम्मेदवार चयन गरेका थिए ।
राष्ट्रियसभामा प्रदेशसभाका ५९ सदस्य मध्येमा ५७ जना र स्थानीय तहका एक सय ६९ मतदाता मध्येमा एक सय ६६ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय गण्डकीका सुचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई जना प्रदेश सभा सदस्य र स्थानीय तहका तीनजना जनप्रतिनिधि मतदानमा अनुपस्थित रहे ।
विजयी उम्मेदवारहरुलाई निर्वाचन अधिकृत हिमलाल बेल्बासे, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायतले प्रमाणपत्र वितरण गर्नुभयो ।
पोखरा महानगरपालिका–७ रत्नचोकस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा विहान ९ः०० बजेदेखी अपरान्ह् ३ः०० बजेसम्म मतदान भएको थियो । बजेदेखी मतदान सुरु भएको हो ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख एवं अध्यक्ष र उपाध्यक्ष मतदाता हुने कानुनी व्यवस्था छ ।

