हिमाली आवाज । पोखरा महानगरपालिका–२४, कास्कीकोट स्थित ऐतिहासिक, धार्मिक तथा शैक्षिक महत्व बोकेको सिद्ध बराह आधारभूत विद्यालयले आफ्नो स्थापना भएको ६० वर्ष पूरा भएको अवसरमा हिरक जयन्ती महोन्सवको औपचारिक शुभारम्भ गरेको छ ।
विद्यालयले भव्य समारोहका साथ कार्यक्रम सुभारम्भ गरेको हो । विद्यालय प्राङ्गणमा आयोजित उक्त कार्यक्रम मार्फत विद्यालयले विगत ६० वर्षको गौरवमय शैक्षिक यात्रालाई सम्मान गर्दै आगामी एक वर्षसम्म निरन्तर सञ्चालन हुने हिरक जयन्ती महोत्सव, शैक्षिक सुधार, संस्थागत सुदृढीकरण, पूर्वाधार विकास, सामाजिक सहभागिता तथा पूर्व विद्यार्थी सञ्जाल विस्तार सम्बन्धी विविध कार्यक्रमहरूको औपचारिक सुरुवात गरेको हो ।
हिरक जयन्ती वर्षको औपचारिक उद्घाटन सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलले पानसमा बत्ती बालेर गर्नुभएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावक, पूर्व विद्यार्थी, समाजसेवी, शिक्षाप्रेमी तथा विद्यालय शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. पौडेलले विद्यालयको स्थापना कालदेखि वर्तमानसम्मको ऐतिहासिक यात्रा, शैक्षिक योगदान, गुणस्तर अभिवृद्धिका प्रयास तथा भविष्यका सम्भावनाबारे विस्तृत रूपमा चर्चा गर्नुभयो । उहाँले विद्यालयको विकास र शैक्षिक स्तर उकास्न पूर्व विद्यार्थीहरूले लिएको निर्णय, देखाएको सक्रियता र पु¥याएको योगदान अत्यन्तै सराहनीय, प्रेरणादायी तथा प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । शिक्षालाई समयानुकूल, व्यवहारमुखी र जीवनसँग जोड्नुपर्नेमा जोड दिँदै उहाँले कुनै पनि विद्यार्थीले आफ्नो दैनिकीमा आवश्यक सीप सिकेर जीवन सहज रूपमा सञ्चालन गर्न सक्नु नै वास्तविक शिक्षा भएको बताउनुभयो ।
वर्तमान विज्ञान र प्रविधिको युगमा पुराना परम्परागत शिक्षण पद्धति भन्दा अघि बढेर नवीन प्रविधि, आधुनिक शिक्षण विधि र सृजनात्मक सोचलाई आत्मसात गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले पढाइ र सिकाइ फरक विषय भएको स्पष्ट पार्नुभयो । कार्यक्रममा विशिष्ट अतिथि तथा पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले विद्यालयले मनाउन लागेको हिरक जयन्ती वडाकै गौरवको विषय भएको उल्लेख गर्दै वडाको तर्फबाट विद्यालयका शैक्षिक तथा भौतक विकास कार्यक्रमहरूमा आवश्यक सहयोग र सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यालयका प्रधानाध्यापक रिना शाहले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै हिरक जयन्ती वर्षलाई विद्यालयको समग्र रूपान्तरण, गुणस्तरीय शिक्षा प्रवद्र्धन र संस्थागत सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा लिइएको स्पष्ट पार्नुभयो ।
विद्यालयका पूर्व विद्यार्थी, समाजसेवी तथा सफल व्यवसायी लेखनाथ सुवेदीले हिरक जयन्ती वर्ष सफल बनाउन तथा विद्यालयको गुणस्तर अभिवृद्धिका लागि आर्थिक स्रोत सुदृढीकरण आवश्यक रहेको उल्लेख गर्दै सबैलाई सहयोगका लागि आह्वान गर्नुभयो र दाताहरूको सम्मान व्यवस्था तथा वार्षिक कार्यक्रमबारे जानकारी दिनुभयो ।
हिरक जयन्ती वर्षको शुभारम्भ समारोहकै अवसरमा विद्यालयको शैक्षिक विकासलाई दीर्घकालीन रूपमा सुदृढ बनाउन विभिन्न दानवीर तथा सहयोगी व्यक्तिहरूबाट अक्षयकोष स्थापना तथा आर्थिक सहयोगको घोषणा गरिएको थियो । यस क्रममा पोखरा २४ रैकर स्थायी घर भई हाल बेल्जियम निवासी पूर्व विद्यार्थी, पूर्व वि.व्य.स अध्यक्ष, दुर्गाप्रसाद सुवेदीले आफ्ना दिवंगत पिताको नाममा स्थापना गरिएको अक्षयकोषमा रु एक लाख तेह्र हजार पाँच सय पचपन्न थप गर्नुभएको छ ।
विद्यालयका संस्थापक प्रधानाध्यापक स्व. देविप्रसाद सुवेदीको स्मृतिमा उहाँका छोरा तथा हाल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीराम सुवेदी तथा उहाँका नाती, हाल अमेरिकामा बसोबास गर्दै आउनु भएका गणेश सुवेदीले रु. एक लाख ११ हजार एक सय ११ बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ । उक्त कोषको रकम भविष्यमा थप वृद्धि गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
त्यस्तै, पोखरा २४, गुण्टेचौर निवासी शिक्षाप्रेमी तथा समाजसेवी बेदहरी सुवेदी, रामेश्वर सुबेदी ,कुलप्रसाद सुवेदी तथा सीता तिमिल्सिना सुवेदीले आफ्नी पूजनीय माता मैना चुँवाइँ सुवेदीको तर्फबाट रु ५१ हजार एक सय ११ बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ । पूर्व विद्यार्थी तथा व्यवसायी बोधराज सुवेदी र पूर्व विद्यार्थी तथा हाल भिमाद गाउँपालिकामा कार्यरत अधिकृत अजय सुवेदीले जनही रु. २५ हजार एक सय ११ बराबरको आर्थिक सहयोग प्रदान गर्नुभएको । पूर्व विद्यार्थी बिष्णुमाया पौडेलले रु १० हजार ५ सय , सिमलचौर आमा समूहको तर्फबाट रु. १०,१५५, चिलिमडाँडा आमा समूहको तर्फबाट रु. पाँच हजार एक सय तथा अन्य पूर्व विद्यार्थीहरूबाट समेत उल्लेखनीय आर्थिक सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा हिरक जयन्ती महोत्सवका संरक्षक काशीराम सुवेदीले विद्यालयको समग्र विकासका लागि शिक्षक, विद्यार्थी, अभिभावक, पूर्व विद्यार्थी, स्थानीय समुदाय तथा स्वदेश–विदेशमा रहेका सम्पूर्ण विद्यालय प्रेमीहरूलाई एकताबद्ध भई सहयोग गर्न आह्वान गर्नुभयो । उहाँले हिरक जयन्ती महोत्सव विद्यालयको गौरवशाली इतिहासलाई सम्मान गर्दै उज्ज्वल भविष्य निर्माण गर्ने साझा अभियान भएको स्पष्ट पार्नुभयो ।
विद्यालयका पूर्व शिक्षक समेत रहनुभएका पूर्व विद्यालय व्यवस्थापन समितिका सदस्य एकबहादुर लुइटेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक तथा पूर्व विद्यार्थी विनोद सुवेदीले गर्नुभएको थियो ।
हिरक जयन्ती वर्षको औपचारिक शुभारम्भसँगै विद्यालयले आगामी एक वर्षभरि शैक्षिक, सामाजिक, सांस्कृतिक, खेलकुद, पूर्वाधार विकास, अक्षयकोष विस्तार, पूर्व विद्यार्थी सम्मेलन तथा स्मारिका प्रकाशन लगायतका विविध कार्यक्रमहरू चरणबद्ध रूपमा सञ्चालन गर्ने जनाएको छ, जसले विद्यालयको शैक्षिक गुणस्तर, संस्थागत क्षमता र सामाजिक विश्वासलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

