हिमाली आवाज । पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान) को आयोजनामा पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम सोमबारदेखि पोखरामा सुरु भएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजना भएको तालिम तीन दिनसम्म चल्नेछ ।
तालिमको पहिलो दिन डा.आरती रेग्मीले व्यक्तित्व विकास सम्बन्धमा सहजीकरण गर्नुभयो । उहाँले शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धमा आफ्नो प्रस्तुति राख्नुभयो । तालिम संयोजक मीना बरालका अनुसार दोस्रो दिन मंगलबार व्यवसाय प्रवद्र्धन र ‘ब्रान्डिङ’ सम्बन्धमा समिर बराल र डिजिटल मार्केटिङ सम्बन्धमा विजय कुमालले तालिम दिनुहनुेछ । । अन्तिम दिन बुधबार साइबर अपराध र अनलाइन ठगी सचेतना सम्बन्धमा कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीले सहजीकरणको कार्यतालिका रहेको छ ।
तालिको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका वरिष्ठ निर्देशक मणिराज लामिछानेले तालिममा गरिने लगानीले व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुपर्ने बताउनुभयो ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख एवं डीएसपी नवराज भट्टराईले साइबर अपराध बढिरहेको अवस्थामा यसबाट बच्न अपनाउनुपर्ने उपायकाबारेमा तालिमले स्पष्ट पार्ने अपेक्षा व्यक्त गर्नुभयो । पोखरा पर्यटन परिषद्का सचिव नारायणप्रसाद सुवेदीले तालिमबाट लाभ लिएर व्यावसायिक जीवनमा उतार्न सहभागीलाई आग्रह गर्नुभयो ।
टेवान संस्थापक अध्यक्ष लक्की कार्की क्षेत्रीले शारीरिक र मानसिक रुपमा स्वस्थ हुँदा मात्रै व्यवसायमा पनि सफल हुन सकिने भएकोले यस्ता तालिम फलदायी हुने बताउनुभयो ।
टेवान अध्यक्ष शोभा न्यौपाने पाण्डेले तालिमबाट अपेक्षित उपलब्धी हासिल गर्ने बताउनुभयो । ‘क्षमता अभिवृद्धिमा पर्यटन बोर्डले सहयोग गरेको छ अब पर्यटन प्रवद्र्धनमा पनि व्यवसायी महिलाका लागि बजेट छुट्याउन आवश्यक छ,’ उहाँले भन्नुभयो । संस्थाकी महासचिव शोभा अधिकारी पौडेलद्वारा सञ्चालित कार्यक्रममा संयोजक मीना बरालले तालिमको उद्देश्यबारे बताउनुभयो ।


