नेकपा उम्मेदवारहरु भन्छन्ः संकटमोचनका लागि हामीलाई मत दिनुस्

हिमाली आवाज । फागुन २१ गतेको चुनाव नजिकिँदै गर्दा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कास्कीका उम्मेदवार र नेता, कार्यकर्ता मत माग्न व्यस्त छन् । घरदैलो र ससाना भेटभाट गरी उनीहरु मतदाताका गुनासा, टिप्पणी र सुझाव लिन लागेका हुन् ।

नेकपा पुरानामध्येको नयाँ र नयाँ मध्येको पुरानो शक्ति भएको उल्लेख गर्दै उनीहरुले अहिलेको संकटमोचनका लागि नेकपाको जित जरुरी रहेको औंल्याएका छन् ।

नेकपा कास्की क्षेत्र नम्बर १ का उम्मेदवार राजकाजी गुरुङ (करण)ले सोमबार रुपाका विभिन्न क्षेत्रमा मतदाताको घरदैलोमा पुगेर उनीहरुको अपेक्षा सुन्नुभयो । रुपा–३ टाकेञ्जामा सहिदहरुको सालिकमा माल्र्यापण गरी भेटघाट सुरु गर्नुका गुरुङले विगतका वाचा र पाटीका एजेन्डाहरु नभुल्न सुझाव दिनुभयो ।

कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद) गरिब, सुकुम्बासी, सीमान्तकृत, राष्ट्रिय पुँजीपति सबैको समतामूलक समाजको खाका नेकपासँग मात्र भएको बताउनुभयो । अखिल नेपाल सुकुम्बासी संघ जिल्ला समिति कास्कीले आयोजना गरेको उम्मेदवारहरूसँगको परिचयात्मक कार्यक्रममा थापाले भन्नुभयो,‘ गरीब, मध्यम वर्ग र श्रमजीवी जनताको अधिकार सुरक्षित नगरी समृद्ध शहरको कल्पना गर्न सकिन्न । त्यसको नेतृत्व नेकपाबाहेकबाट सम्भव छैन ।’

उम्मेदवार थापाले संकटका बेला माथिल्लो वर्ग भाग्ने र त्यसको सामना गरीब तथा मध्यम वर्गले भोग्नुपर्ने वर्तमान अवस्था रहेको बताउनुभयो ।‘संकट पर्दा हेलिकोप्टर चढेर भाग्ने होइन, समाधानको उपाय खोज्ने हो ।” उहाँले भन्नुभयो ।

नेकपा कास्की ३ उम्मेदवार गोपाल गिरी माछापुच्छ«े र पोखरा महानगरका केही क्षेत्रका मतदातासँग भेटघाट गर्नुभयो । ‘जेन्जी’ युवाको भावना अनुसार काम गर्ने, जातीय विभेद अन्त्य गर्ने, भ्रष्टाचारमुक्त समाज निर्माण गर्न नेकपाको जित आवश्यक पर्ने बताउनुभयो। आज कास्कीको अन्नपूर्ण गाउँपालिकामा चुनावी प्रचारप्रसार तथा जनतासँग भेटघाट गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

Comments
Loading...