हिमाली आवाज । पाेखरामा रहेकाे भाईबर एजुकेशन फाउण्डेशन एण्ड ओपन होस्टलको पाँचौँ वार्षिकोत्सव कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम होस्टलका सञ्चालक मेख पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि जनहित माध्यमिक विद्यालयका प्रधानाध्यापक रामचन्द्र अधिकारी रहनु भएको थियो भने विशेष अतिथिमा गौरिशंकर माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक चत्तुरमान श्रेष्ठ,यामप्रसाद सुवेदी सहभागी हुनु भएको थियो। कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
वार्षिकोत्सवका अवसरमा विभिन्न मनोरञ्जनात्मक खेल तथा गतिविधिहरू आयोजना गरिनुका साथै उत्कृष्ट प्रदर्शन गर्ने प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। त्यसैगरी SEE २०८१ मा उत्कृष्ट GPA ल्याउन सफल मेघा माध्यमिक विद्यालयकी छात्रा सिलिजा आचार्य (GPA ३.८८), समिर आचार्य (GPA ३.८७) तथा कक्षा १२ NEB बोर्ड परीक्षामा उत्कृष्ट GPA हासिल गर्ने किशोर रिजाल (GPA ३.७८) र विपना के.सी. (GPA ३.५६) लाई विशेष सम्मान गरिएको थियो।
आफ्नो विषयमा उत्कृष्ट नतिजा दिलाउन सफल शिक्षकहरू कृष्ण अधिकारी, पुरुषोत्तम कुँवर, अम्बिक बराल, भगवान बाँस्तोला, डोर्णराज भुर्तेल, हरि कुँवर, दीपक पोख्रेल, कमलपति शर्मा, तुलाराम पौडेल र गणेश सुबेदीलाई पनि कदरस्वरूप सम्मान गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रामचन्द्र अधिकारीले गुणस्तरीय शिक्षाका लागि अनुशासित वातावरण र निरन्तर प्रयास आवश्यक रहेको बताउनु भयो। विशेष अतिथि चत्तुरमान श्रेष्ठले विद्यार्थीको सर्वाङ्गीण विकासमा यस्ता शैक्षिक संस्थाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नु भयो।
कार्यक्रमका अध्यक्ष तथा सञ्चालक मेख पोख्रेलले आगामी शैक्षिक सत्र २०८२ मा SEE वा कक्षा १२ NEB बोर्ड परीक्षामा होस्टलमा बसेर अध्ययन गर्ने विद्यार्थीले GPA ३.९ भन्दा माथि प्राप्त गरेमा एक हप्ता सिङ्गापुर भ्रमण गराइने वा कक्षा ११/१२ निःशुल्क पढाइने प्रतिबद्धता व्यक्त गर्नु भयो।
करिब ३२० जनाको उपस्थितिमा सम्पन्न कार्यक्रम सफल भएको बताउँदै सञ्चालक पोख्रेलले सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक तथा शुभचिन्तकप्रति धन्यवाद व्यक्त गर्नु भयो। कार्यक्रम सञ्चालन तुलाराम पौडेलले गर्नु भएको थियो।


