हिमाली आवाज । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल स्टेडियमा भएको खेलमा नेपालकी सिर्जना बढुवालले खेलको ३६ औँ मिनेटमा गोल गरी घरेलु टोलीको अग्रता बनाउनुभयो । खेलको ६९ औँ मिनेटमा नेपालले प्रजिता राईको गोलमार्फत अग्रता दोब्बर बनायो ।
खेलमा दुई गोलले पछि परेको अवस्थामा भुटानले ८७ औँ मिनेटमा गोल गर्दै खेलमा फर्किने प्रयास गरेपनि सफल हुन सकेन । भुटानकी सोनम चोडेनले गोल गर्नुभएको थियो ।
घरेलु टोली नेपालले भुटानलाई पराजित गरेसँगै तीन अङ्क जोड्न सफल भयो । यससँगै नेपालको फाइनल प्रवेशको सम्भावना कायम भएको छ ।
नेपाल यसअघि आफ्नो पहिलो खेलमा भारतसँग १–० गोलले पराजित भएको थियो । भुटानको भने दुई वटै खेलमा पराजित भएपछि फाइनल प्रवेशको ढोका बन्द भएको छ । पहिलो खेलमा भुटानलाई बङ्गलादेशले १२–० गोलले हराएको थियो ।
यसैगरी सोमबारनै सम्पन्न भएको पहिलो खेलमा बङ्गलादेशले भारतलाई २–० गोलले हराएको थियो । बङ्गलादेशले हालसम्म दुई खेल जित्दै ६ अङ्क सहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । आफ्नो पहिलो खेलमा नेपाललाई हराएको भारतको तीन अङ्क रहेको छ । भुटानले हालसम्म कुनै पनि अङ्क जोड्न सकेको छैन ।
लिगचरणको अन्तिम खेलमा माघ २१ गते भारत र भुटानका तथा नेपाल र बङ्गलादेश बीच खेल हुनेछ । अङ्क तालिकामा शीर्ष दुईमा रहने टोलीका बीच प्रतियोगिताको फाइनल खेल माघ २४ गते हुनेछ ।


