साफ महिला च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग पराजित, प्रतियोगिताबाट बाहिरियो

हिमाली आवाज । घरेलु टोली नेपाल पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको लिगचरणबाटै बाहिरिएको छ ।

पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा बुधबार लिगचरणको अन्तिम खेलमा बङ्गलादेशसँग ४–० गोलले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । बङ्गलादेशले खेलको पहिलो र दोस्रो हाफमा समान दुई गोल गर्यो ।बङ्गलादेशलाई जित दिलाउन अल्पी अख्तरले ह्याटिक गर्नुभयो । खेलको तेस्रो मिनेटमै प्रोतिमा मुण्डाको गोलमार्फत अग्रता बनाएको बंगलादेशले इन्जुरी समयमा अख्तरले गोल गरेपछि अग्रता दोब्बर बनायो ।

नेपाल दोस्रो हाफमा खेलमा फर्कन सङ्घर्ष गरेपनि सफल हुन सकेन । खेलको ६७ औँ मिनेट र ८२ औँ मिनेटमा अख्तरले पुनः गोल गर्नुभयो र बङ्गलादेश फाइनलमा पुग्न सफल भयो । लिगका तीन वटै खेल जितेर शीर्ष स्थानमा रहन सफल भएको बङ्गलादेशले अब प्रतियोगिताको उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

भारतले आजनै सम्पन्न लिगचरणको पहिलो खेलमा भुटानलाई ८–० गोलले हराएको थियो । प्रतियोगितामा दुई जित र एक हार बेर्होरेको भारत ६ अङ्क जोडेर फाइनल पुगेको हो । लिगका शीर्ष दुई टोली भारत र बङ्गलादेशकाबीच उपाधिका लागि माघ २४ गते प्रतिस्र्धा हुनेछ ।
प्रतियोगिताको दुई खेलमा हार र एउटामा जित निकालेको नेपालले तीन अङ्क जोड्दा भुटानले कुनै पनि अङ्क जोड्न सकेन ।

Comments
Loading...