हिमाली आवाज । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार बङ्गलादेश र भारत भिड्दैछन् ।पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा दिउसो २ः०० बजे यी दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
यही माघ १७ गतेदेखी ‘राउन्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन भएको प्रतियोगितामा साविक विजेता समेत रहेको बङ्गलादेशले लिगका तीन वटै खेल जितेर नौ अङ्क सहित शीर्ष स्थानमा रहेर फाइनल प्रवेश गरेको हो । भारतले दुई जित र एक हार सहित ६ अङ्क सहित लिगको उपविजेता बनेर फाइनलमा पुगेको हो ।
बङ्गलादेशले पहिलो खेलमा भुटानलाई १२–०, दोस्रो खेलमा भारतलाई २–० र अन्तिम खेलमा घरेलु टोली नेपाललाई ४–० गोलले पराजित गरेको थियो ।
यसैगरी भारतले पहिलो खेलमा नेपाललाई १–० गोलले हराउँदा दोस्रो खेलमा बङ्गलादेशसँग २–० ले पराजित भयो भने अन्तिम खेलमा भुटानलाई ८–० ले पराजित गरेको थियो ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)को समन्वय तथा अखिल नेपाल फुटबल महासंघ (एन्फा)को आयोजनामा पोखरामा पहिलो पटक साफ महिला फुटबल आयोजना गरिएको हो ।


