आहा रारा पोखरा गोल्ड कपको तयारी पूरा,विजेतालाई रु १४ लाख पुरस्कार

हिमाली आवाज । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

यही माघ २७ देखी फागुन ९ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको तयारीका काम अन्तिम चरणमा पुगेको आज आयोजितपत्रकार सम्मेलनमा आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले बताउनुभयो ।

उहाँका अनुसार पच्चीसौँ संस्करणको सो प्रतियोगितामा विदेशका तीन र नेपालका आठ गरी १२ टोलीले उपाधिका लागि प्रस्पिर्धा गर्नेछन् ।
अध्यक्ष थापाले प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको बताउनुभयो । प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजार,उपविजेताले रु सात लाख एक हजार पाउने छन् ।

गत वर्ष उपाधि विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । “प्रतियोगिताको आकर्षण वृद्धि गर्न यस वर्ष विगतको तुलनामा पुरस्कार बढाएका छौ भने रात्रिकालिन फुटबलले यहाँको फुटबल माहोल बढाउने विश्वास छ ।” थापाले भन्नुभयो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले टेलजी कम्पनीको इलेक्ट्रिक स्कुटर, ट्रफी र प्रमाणपत्र पुरस्कार पाउँदा, अनुशासित टोली, उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्टाइकर, प्रशिक्षक र सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही रु २५ हजारका साथमा ट्रफी पुरस्कार पाउने सहाराले जनाएको छ ।यसैगरी हरेक म्याचमा ‘मेन अफ दि म्याच’ पुरस्कार रु १० हजार र ट्रफी रहेको छ ।

प्रतियोगितामा नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मस्र्याङ्दी क्लब, जावलाखेल युवा क्लब, प्लानिङ ब्वाइज युनाइटेड र फ्रेण्ड्स क्लब र आयोजक टोली सहारा क्लब पोखरा रहेका छन् ।

यसैगरी विदेशी टिमका रूपमा उज्वेकिस्तानको आभा फुटबल क्लब, भारतको थण्डरबोल्ट नर्थ युनाइटेड र हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लब सहभागी हुनेछन्।आयोजक सहाराले यस वर्ष अस्थायी फ्लड लाइट जडान गरेर रात्रीकालिन समयमा खेल सञ्चालन गर्ने जनाएको छ ।

क्लबका अध्यक्ष थापाले ३५ फिट उचाइको अस्थायी फ्लडलाइट जडान गरी सन्ध्याकालीन खेल सञ्चालन गरिने जानकारी दिनुभयो । खेलको पहिलो हाफ उज्यालोमा र दोस्रो हाफ साँझको अध्यारोमा खेलाइनेछ

Comments
Loading...