कण्डम दिवसमा पाेखराका पत्रकारसँग अन्तरक्रिया

हिमाली आवाज । अन्तर्राष्ट्रिय कण्डम दिवसका अवसरमा एड्स हेल्थकेयर फाउण्डेसन (एएचएफ) नेपालले पोखराका पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ ।

प्रादेशिक जनस्वास्थ्य केन्द्र, गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको सहकार्यमा आयोजना गरिएको अन्तरक्रियामा कण्डम र यस दिवसको महत्वका बारेमा चर्चा गरिएको थियो । अन्तरक्रियामा प्रादेशिक जनस्वास्थ्य केन्द्र, गण्डकी प्रदशका क्षयरोग÷एचआइभी फोकल पर्सन लक्ष्मण बसौलाले एएचएफ नेपालले प्रणय दिवसको अवसर पारेर सन् २०११ देखि युवाहरुलाई लक्षित गरि नेपालमा पनि विविध कार्यक्रम गरि अन्तरराष्ट्रिय कण्डम दिवस प्रत्येक वर्ष मनाउदै आएको बताउनुभयो ।

‘अन्तरराष्ट्रिय रुपमा फेब्रुअरी १३ का दिन प्रणय दिवसको अबसर पारी यसलाई विश्वब्यापी रुपमा कण्डमको सही तरिकाले प्रयोग गरि सुरक्षीत यौन सम्पर्क बारे जनचेतना फैलाउनका लागि रमाइलो तथा रचनात्मक तरिकाले अन्तराष्ट्रिय कण्डम दिवस मनाउने गरिन्छ,’उहाँले भन्नुभयो, ‘संसारभरि यौनरोग संक्रमण पुनः फैलिरहेको सन्दर्भमा, आफु र आफ्नो यौन साथीलाई जोगाउनु अझ महत्वपुर्ण हुन आउछ ।’

संयोजक बसौलाले गण्डकी प्रदेशमा यो आर्थिक वर्षको पुस मसान्तसम्म ९ लाख ५३ हजार कण्डम बाडिएको जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा २२ लाख ६४ हजार र त्यस अघिको आर्थिक वर्षमा २३ लाख ९७ हजार कण्डम वितरण गरिएको थियो ।

पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले अघिल्ला वर्षहरुमा जस्तै यो वर्ष पनि पोखरामा कण्डम दिवस भव्य रुपमा मनाइने बताउनुभयो । कण्डम अस्थायी साधन मात्र नभएर यौनरोग निरोधक साधन भएकाले यसको प्रचारप्रसारमा सबै एकजुट हुनुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा एड्स हेल्थकेयर फाउण्डेसन, नेपालका कार्यक्रम तथा बजार संयोजक राधेश्याम श्रेष्ठले एएचएफका बारेमा जानकारी गराएका थिए । एएचएफले ४९ देशहरूमा २७ लाखभन्दा बढी मानिसहरूलाई सेवा प्रदान गर्ने बताउनुभयो।

एएचएफ सन् २००८ मा नेपालमा आएदेखि राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रसँगको साझेदारीमा काम गर्न सुरु गरेको श्रेष्ठले जानकारी दिनुभयो । त्यसपछि मे २००९ देखि शुक्रराज ट्रपिकल तथा संक्रामक रोग अस्पतालबाट सेवा सञ्चालन गरिरहेको छ । संस्थाले नेपालमा कण्डम वितरण एचआइभी टेस्ट, एआरटी क्लिनिक लगायतको काम गरिरहेको छ ।

एएचएफ नेपाल, गण्डकीकी कार्यक्रम संयोजक विद्या कोइरालाले बिहीबार पत्रकार अन्तरक्रिया कार्यक्रम गरी शुक्रबार कण्डम सम्बन्धी सन्देशमुलक गीत प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । १० टिमको सहभागिता रहने उक्त प्रतियोगितामा विजेतालाई नगदसहित पुरस्कृत गरिने संयोजक कोइरालाले जानकारी दिनुभयो ।

Comments
Loading...