माछापुच्छ्रे गाउँपालिका कार्यसम्पादनमा जिल्लामा पहिलो बन्यो

हिमाली आवाज । कास्की जिल्लाका स्थानीय सरकारहरु मध्येमा माछापुच्छ्रे गाउँपालिका कार्यसम्पादनमा प्रथम हुन सफल भएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले यस वर्ष गरेको कार्यसम्पादन मुल्याङ्कनमा ७० दशमलव ८ अंक सहित माछापुच्छ्रे जिल्लामा प्रथम हुन सफल भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले हिमाली आवाजलाई जानकारी दिनुभयो । उहाँका अनुसार आयोगले स्थानीय तहका हकमा कुल १७ सूचकका आधारमा मूल्यांकन गर्दै आएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सुवेदीले सबैको सहयोग तथा वित्तीय अनुशासन र पारदर्शितालाई प्राथमिकता दिइएकाले उत्कृष्ट कार्यसम्पादन सम्भव भएको बताउनुभयो ।उहाँले भन्नुभयो,“उत्कृष्ट नतिजा ल्याउन सबैको भूमिका छ । हामी आगामी दिनमा समेत राम्रो गर्दै जानेछौँ । ”

यसैगरी अन्नपूर्ण गाउँपालिका ६९ दशमलव ५६ अंक सहित दोस्रो हुँदा, रुपा गाउँपलिकाले ६३ दशमलव ४५ अंक सहित तृतीय भएको छ । पोखरा महानगरपालिकाले ५८ दशमलव ७६ अंक सहित चौथो हुँदा मादी गाउँपालिकाले ४८ दशमलव ३२ अंक सहित कार्यसम्पादनमा पुछारमा छ । कार्यसम्पादन मूल्यांकनमा गत वर्ष समेत माछापुच्छ्रे गाउँपालिका जिल्लामा प्रथम भएको थियो।

आयोगको मुल्यांकन अन्य सूचकहरुमा १० असारभित्र बजेट सार्वजनिक गरे÷नगरेको, असार मसान्तभित्र बजेट पास गरे÷नगरेको उल्लेख छ ।
यसैगरी आर्थिक वर्ष २०८१÷८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे÷नगरेको समेत मूल्यांकनको सूचक मानिएको छ ।

आगामी आ.व.को बजेट प्रक्षेपण सहित विवरण अर्थ मन्त्रालयमा बुझाए÷नबुझाएको, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेकोलाई समेत सूचक मानिएको छ ।यसबाहेक राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षाको नतिजा, खोप लगाएका बालबालिकाको अनुपात समेत आयोगले मूल्यांकनका आधार मान्ने गरेको छ ।

वित्त आयोगले गरेको कार्यसम्पादन मुल्याङ्कनका आधारमा आगामी आर्थिक वर्षमा संघीय सरकारले कार्यसम्पादनमा आधारित समानीकरण अनुदान स्थानीय तहले प्रदान गर्ने गर्दछ। सरकारले स्थानीय तहलाई प्रतिस्पर्धाका आधारमा वित्तीय सबलीकरण होस् भन्ने उदेश्यका साथ हरेक वर्ष यस्तो कार्यसम्पादन मुल्याङ्कनको नतिजा सार्वजनिक गर्ने गर्दै आएको छ। ।

Comments
Loading...