कृष्ण दवाडी
हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुसमा अर्को पर्यटकीय आकर्षण आल डाँडा पार्क निर्माण गरिएको छ ।
पर्यटकीय गाउँका रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित धम्पुसमा यस पार्कले थप पर्यटन आकर्षण बढाउने र पर्यटकको बसाई लम्बाउने अपेक्षा गरिएको छ । पार्कमा बसेर आराम सहित मनोरम दृश्यावलोकन गर्न सकिने छ ।
पार्कमा धम्पुस ब्रेकन भगिनि सम्बन्ध स्थापनाको स्मारक राखिएको छ ।ढुङ्गैढुङ्गाले बनेको यस स्मारकले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्नेछ । दुई रोपनी जमिनमा रहेको पार्कबाट उत्तरतर्फ लहरै ठडिएका हिमश्रृङ्खला तथा हेमजा र पोखरा बजारको दृश्यावलोकन गर्न सकिन्छ ।
धम्पुस समाज युकेको लगानी र अग्रसरतामा पार्क निर्माण गरिएको हो । पार्क निर्माणका लागि समाजको रु २६ लाख र स्थानीय सरकार तथा व्यक्तिगत सहयोग गरी कूल रु ४० लाख खर्च भएको धम्पुस समाज युकेका संरक्षक मेजर खुशीमान गुरुङले जानकारी दिनुभयो । “धम्पुस आफैमा पर्यटकीय गाउँ हो । यहाँ आउने पर्यटकलाई थप आकर्षण बढाउने उद्धेश्यले हामीले पार्क बनाएका हौँ । ” गुरुङले भन्नुभयो ।
धम्पुस र बेलायतको ब्रेकन शहरबीचको भगिनि सम्बन्ध स्थापनाको सातौ वर्ष पुगेको छ । सोही अवसरमा हालै पार्क औपचारिक उद्घाटन गरेर खुला गरिएको हो ।
धम्पुसबाट उत्तरतर्फ आँगै अगाडि देखिने अन्नपूर्ण लगायतका हिमश्रृङखलाले पर्यटकलाई लोभ्याउने गरेको छ । पार्क निर्मापछि थप पर्यटक आगमन बढ्ने विश्वास गरिएको माछापुच्छ«े –ं ७ का वडाध्यक्ष बैकुण्ठप्रसाद भण्डारीले बताउनुभयो ।
“पार्क निर्माणले धम्पुसको पर्यटनमा नयाँ आयाम थपिएको छ । यसबाट ग्रामिण पर्यटन प्रवद्र्धन हुनेछ भने धम्पुस र ब्रेकनको सम्बन्धलाई समेत थप प्रगाढ बनाउने छ ।” वडाध्यक्ष भण्डारीले भन्नुभयो ।
पोखरादेखी २० किमी दूरीमा धम्पुस गाउँ पुगिन्छ । पोखरा–बाग्लुङ राजमार्गको घट्टेखोलाबाट धम्पुस जान सकिन्छ । धम्पुस विश्व प्रख्यात मर्र्दी हिमाल पदयात्राको प्रवेशद्धार समेत हो । धम्पुस हुँदै वार्षिक हजारौँ पर्यटकले मर्दीको पदयात्रा गर्ने गर्दछन् ।


