यातायात व्यवसायी राष्ट्रिय महासंघको महाधिवेशन पोखरामा सुरु

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सबै व्यवसायको मेरुदण्डको रुपमा रहेको यातायात क्षेत्रका समस्या समाधानका लागि प्रदेश सरकार जहिलेपनि प्रतिवद्ध रहेको बताउनुभएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंको आज(आइतबार)देखी पोखरामा सुरु भएको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले यातायात क्षेत्र संवदेनशिल क्षेत्र रहेकाले यस क्षेत्रको व्यवस्थित विकासका लागि सरकार, व्यवसायी, मजदुर सबै एकठाउँमा बसेर छलफलबाट समाधान खोज्नुपर्ने बताउनुभयो ।
“यातायात क्षेत्रमा जनता हरेक घण्टा जोडिएका छन्, राज्य, व्यवसायी, मजदुर सबै यसमा जोडिएको छ । यस्तो संवदेनशिल क्षेत्रको समस्या सबै एक ठाउँमा बसौँ, छलफल गरौँ र समाधान गरौँ । समस्याको पहिचान हुन सक्दा मात्र सम्वोधन हुन सक्दछ । कुन कुन क्षेत्रमा कसरी के गरेर सरकराले सहयोग गर्न सक्छ, भन्नुहोला । ” मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।

उहाँले सरकारले यातायातमैत्री सडक पूर्वाधार बनाउन चाहेपनि पहाडी भुगोलमा सम्भव नभएको बताउनुभयो । “भुगोलका कारण चाहेर पनि पहाडी भुभागमा यातायातमैत्री सडक बनाउन सकिएको छैन, त्यसैले सुरक्षित यात्रा अघि बढाउन सबैको साथ सहयोग आवश्यक । ” पाण्डेले भन्नुभयो ।
संविधान अनुसार यातायात व्यवस्थापनकोे जिम्मा प्रदेश सरकारको रहेकाले सोही अनुसार कानुन र नियमावली प्रदेश सरकारले बनाएको बताउनुभयो । प्रदेश सरकारको कानुनमा व्यवसायीलाई कहाँ नेर समस्या परेको छ भन्ने आयो भने व्यवसायीसँग बसेर समाधानको उपाय खोजिने समेत मुख्यमन्त्रीले स्पष्ट पार्नुभयो ।

गण्डकी प्रदेश सरकारले प्रविधिमा जोड दिएर गत वर्ष राइड सेयरिङ सेवा सञ्चालन सम्बन्धी कानुन बनाएको बनाउँदै उहाँले अहिलेको युगमा यातायात क्षेत्र प्रविधिमा जानुपर्ने बताउनुभयो । मुख्यमन्त्री पाण्डेले भन्नुभयो,“तपाईहरुको व्यवसाय सुकाउन, लगानी निरुत्साहित गर्न सरकारले कानुन बनाएको होइन, ढिलो चाँडो प्रविधिमा जानु पर्दछ भनेर कानुन ल्याएको हो । ”

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सडक दुर्घटनाका कारणले दैनिक औसतमा आठ जनाको ज्यान जाने दुखदायी अवस्था रहेको भन्दै प्रहरीले मात्रै दुर्घटना न्यूनीकरण गर्न नसक्ने बताउनुभयो ।
“मुलुकले कहाली लाग्दो सवारी दुर्घटनाबाट ठूलो मानविय क्षति सहित पूँजी क्षति भएको छ । दुखद् अवस्था बेर्होनु परेको छ । दुर्घटनाका विभिन्न कारणमध्ये मानविय र इन्जिनियरिङका कारण भएका छन् । दुर्घटना न्यूनीकरणका लागि यातायात क्षेत्रमा काम गर्ने सबैको साथ र सहयोग आवश्यक हुन्छ । ” कार्कीले भन्नुभयो ।
महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले दुर्घटना पछिको अवस्थामा व्यवसायीलाई थुन्ने र तर्साउने कामले लगानीकर्ताहरु निरुत्साहित भएको बताउनुभयो । उहाँले यातायात क्षेत्रमा व्यवसायिकता र व्यवसायिक एकताका लागि प्रयास गरिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल, सांसदहरु रमेश सापकोटा, विष्णुबहादुर खड्का, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री गोविन्दबहादुर नेपाली, बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री जयराम थापा, कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, विभिन्न यातायात मजदुर तथा व्यवसायी संगठनका अध्यक्ष तथा प्रतिनिधिहरुले यातायात क्षेत्रको विकास र यस क्षेत्रका अप्ठ्यारालाई सरकारले समाधान गरी सहज बनाउनुपर्ने बताउनुभएको थियो ।

महाधिवेशनमा देशभरमा सार्वजनिक यातायात सञ्चालन गर्ने समिति, कम्पनी, प्रालि तथा सहकारीबाट गरी दुई हजार जना महाधिवेशन प्रतिनिधि र पर्यवेक्षकहरुको गरी दुई हजार जना भन्दा बढीको सहभागिता छ ।

महाधिवेशन अन्तर्गत वैशाख २८ गते बन्द सत्र हुनेछ भने नयाँ नेतृत्व चयनको कार्यक्रम २९ गते हुने महासंघका गण्डकीका निर्वतमान संयोजक केदार पौडेलले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

Comments
Loading...