मादी गाउँपालिकाको बजेट ६५ करोड बढी

हिमाली आवाज । कास्कीको मादी गाउँपालिकाले आर्थिक वर्ष २०८३÷८४ का लागि रु ६५ करोड १२ लाख ५१ हजारको बजेट सार्वजनिक गरेको छ । बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास र सुशासनलाई प्राथमिकतामा राखिएको छ।

प्रस्तावित बजेटमध्ये पूँजीगततर्फ रु १८ करोड १४ लाख ९० हजार र चालुतर्फ रु ४६ करोड ९७ लाख ६१ हजार विनियोजन गरिएको छ ।
बजेटले ‘समृद्ध र आत्मनिर्भर मादी’ निर्माणको लक्ष्यलाई केन्द्रमा राख्दै स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्ने नीति लिएको छ । गाउँपालिकाको १९ औँ गाउँसभामा आज उपाध्यक्ष तथा बजेट,योजना तर्जुमा समिति संयोजक कल्पना गुरुङले आगामी वर्षको पालिकाको बजेट प्रस्तुत गर्नुभएको हो । बजेट अघि गाउँपालिका अध्यक्ष देविजंग गुरुङले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

गाउँपालिकाले आगामी वर्ष कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ। व्यावसायिक कृषि प्रवद्र्धन, मौरीपालन, तरकारी, फलफूल, बीउ उत्पादन, बगर खेती, रैथाने बाली संरक्षण, साना सिँचाइ आयोजना तथा आधुनिक कृषि उपकरणमा अनुदान उपलब्ध गराइने भएको छ । कृषि तथा आर्थिक विकाससम्बन्धी कार्यक्रमका लागि रु तीन करोड २९ लाख ५३ हजार विनियोजन गरिएको उपाध्यक्ष गुरुङले बताउनुभयो ।

शिक्षा र स्वास्थ्यलाई समेट्ने सामाजिक विकासतर्फ रु ३२ करोड ५४ लाख ४१ हजार छुट्याइएको छ। सामुदायिक विद्यालयको गुणस्तर सुधार, विद्यालयमा इन्टरनेट सेवा विस्तार, दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी बनाउने, छात्रवृत्ति निरन्तरता, विद्यालय बस व्यवस्थापन तथा प्रारम्भिक बालविकास केन्द्रका कर्मचारीको सुविधा वृद्धि गर्ने योजना बजेटमा समावेश गरिएको छ।

स्वास्थ्यतर्फ आधारभूत अस्पतालको सेवा विस्तार, स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउने, नसर्ने रोग नियन्त्रण, मानसिक स्वास्थ्य कार्यक्रम, निःशुल्क एम्बुलेन्स सेवा तथा दीर्घरोगीलाई मासिक औषधि उपचार खर्च उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइएको छ।

पूर्वाधार विकासतर्फ रु १३ करोड ५४ लाख पाँच हजार विनियोजन गरिएको छ । अधुरा सडक, कृषि संकलन केन्द्र, शीतभण्डार, पर्यटन पूर्वाधार, नागरिक आरोग्य केन्द्र लगायतका आयोजनालाई सम्पन्न गर्ने लक्ष्य राखिएको छ । छाचोक–चिले–भैंसे सडक स्तरोन्नति, प्रशासनिक भवन निर्माण तथा विभिन्न वडामा सडक, खानेपानी, सिँचाइ र सामुदायिक भवन निर्माणलाई निरन्तरता दिइने भएको छ।

सुशासन तथा प्रशासनिक सुधारका लागि रु ९० लाख तीन हजार विनियोजन गरिएको छ । राजस्व व्यवस्थापन, डिजिटल सेवा विस्तार, विपद् व्यवस्थापन कोष, सार्वजनिक सुनुवाइ, विद्युतीय भुक्तानी प्रणाली तथा कर्मचारी क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ।
गाउँपालिकाले आगामी आर्थिक वर्षमा दिगो पूर्वाधार, उत्पादनमुखी कृषि, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र पर्यटन प्रवद्र्धनमार्फत आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताउनुभयो ।

Comments
Loading...