हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ७० करोड ४६ लाख ७० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले बुधबार बसेको १९ औँ गाउँसभामा प्रस्तुत गरेको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी सिर्जना तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ। गाउँपालिकाले कुल बजेटमध्ये ४८ करोड ७७ लाख २४ हजार रुपैयाँ चालुतर्फ र २१ करोड ६९ लाख ४६ हजार रुपैयाँ पुँजीगततर्फ विनियोजन गरेको छ।
बजेटले दिगो आर्थिक विकास, पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच विस्तार र सुशासनलाई मुख्य उद्देश्य बनाएको गाउँपालिकाले जनाएको छ । बजेट अघि गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले आगामी वर्षको नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नुभएको थियो । नीति कार्यक्रम पारित भएपछि सभामा बजेट प्रस्तुत गरिएको हो ।
बजेटमा शिक्षातर्फ विद्यालय कर्मचारी र बालविकास सहजकर्ताको पारिश्रमिक व्यवस्थापनका लागि एक करोड ३२ लाख रुपैयाँ विनियोजन गरिएको छ भने कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालन गर्न ६० लाख रुपैयाँ छुट्याइएको छ। गाउँपालिका स्तरीय अध्यक्ष कप तथा विभिन्न खेलकुद कार्यक्रमका लागि २८ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ।
स्वास्थ्य क्षेत्रमा लाहाचोक स्वास्थ्य प्रवद्र्धन केन्द्रको सेवा विस्तारका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको छ। पाठेघरमुख तथा स्तन क्यान्सर परीक्षण कार्यक्रमलाई निरन्तरता दिइएको छ भने निःशुल्क औषधि खरिद तथा वितरणका लागि १७ लाख रुपैयाँ छुट्याइएको छ। स्वास्थ्य क्षेत्रका कार्यक्रमका लागि कुल ६ करोड ८६ लाख ८६ हजार रुपैयाँ विनियोजन गरिएको छ।
पूर्वाधार विकासतर्फ गाउँपालिकाको रणनीतिक सडक कोलचोक–लाहाचोक धम्पुस–देउराली सडक स्तरोन्नतिका लागि चार करोड रुपैयाँ लागतको योजना अघि बढाइने भएको छ। वडा नम्बर २ को तातोपानी सडक र शारदा चोक–घामतारा–सरिपाखा सडक स्तरोन्नतिलाई समेत बजेटले प्राथमिकता दिएको छ।
कृषितर्फ मौरी पकेट क्षेत्र विकासका लागि १२ लाख रुपैयाँ, कृषि आधुनिकीकरणका कार्यक्रमका लागि १५ लाख रुपैयाँ तथा कृषि उत्पादन संकलन केन्द्र स्थापना गर्न पाँच लाख रुपैयाँ विनियोजन गरिएको छ। गाउँपालिकामै कृषि प्रयोगशाला स्थापना गर्ने कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ।
पर्यटन क्षेत्रको विकासका लागि विभिन्न पदमार्ग निर्माण, पर्यटकीय सूचना प्रणाली विकास तथा खोज तथा उद्धार जनशक्ति उत्पादनका कार्यक्रम समेटिएका छन्। घले गुरुङ संग्रहालय निर्माण तथा ‘पिपर पिजेन्ट कन्जरभेसन ल्याण्डस्केप’ प्रवद्र्धनका कार्यक्रमलाई समेत बजेटले प्राथमिकता दिएको छ।
गाउँपालिकाले आगामी वर्षका लागि चार करोड ६० लाख रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। बजेट कार्यान्वयनका लागि संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा राजस्व बाँडफाँटलाई प्रमुख स्रोतका रूपमा लिइएको छ।
क्षेत्रगत रूपमा सामाजिक विकासमा सबैभन्दा बढी ३३ करोड ९४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ भने पूर्वाधार विकासमा १५ करोड ९५ लाख ९२ हजार रुपैयाँ, आर्थिक विकासमा तीन करोड १४ लाख ९३ हजार रुपैयाँ र सुशासन तथा सेवा प्रवाहमा चार करोड ६० लाख ६० हजार रुपैयाँ छुट्याइएको छ।
उपाध्यक्ष अधिकारीले जनताको आवश्यकता र सुझावलाई केन्द्रमा राखेर पारदर्शी, उत्तरदायी र परिणाममुखी विकास अभियानलाई अगाडि बढाउन प्रस्तुत बजेट कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो ।
