हिमाली आवाज । कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ६५ करोड ५० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला अधिकारीले गाउँसभामा प्रस्तुत गर्नुभएकाे बजेटले कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार तथा युवा रोजगारीलाई उच्च प्राथमिकतामा राखेको छ।
‘कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार ः अन्नपूर्ण समृद्धिको आधार’ भन्ने दीर्घकालीन सोचलाई आत्मसात् गर्दै ल्याइएको बजेटले उत्पादन वृद्धि, उद्यमशीलता प्रवद्र्धन, डिजिटल सेवा विस्तार र पर्यटन विकासमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य लिएको छ।
बजेटका अनुसार संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, सशर्त अनुदान, राजस्व बाँडफाँड, विशेष तथा समपूरक अनुदान, प्रदेश सरकारका विभिन्न अनुदान तथा राजस्व बाँडफाँड र आन्तरिक आयमार्फत स्रोत व्यवस्थापन गरिनेछ। कुल बजेटमध्ये सामाजिक विकास क्षेत्रमा सबैभन्दा बढी ३६ करोड २१ लाख ५३ हजार रुपैयाँ, पूर्वाधार विकासमा १२ करोड ६ लाख ४७ हजार रुपैयाँ, आर्थिक विकासमा २ करोड ५ लाख रुपैयाँ, वातावरण तथा विपद् व्यवस्थापनमा ८२ लाख रुपैयाँ र सुशासन तथा संस्थागत विकासमा ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
पूर्वाधार विकासतर्फ गाउँपालिकाले सबै वडालाई मध्यपहाडी लोकमार्गसँग जोड्ने तथा सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउने लक्ष्यसहित ११ करोड २६ लाख ४७ हजार रुपैयाँ विनियोजन गरेको छ। लुम्ले–तानचोक–भिचुक–लान्द्रुक ग्रामीण सडक स्तरोन्नतिका लागि एक करोड रुपैयाँ, गाउँपालिका केन्द्रको प्रशासकीय भवनका लागि जग्गा प्राप्ति तथा भवन निर्माणमा ६० लाख रुपैयाँ छुट्याइएको छ।
कृषि तथा पशुपालनलाई उत्पादनमुखी बनाउने उद्देश्यले सशर्त अनुदानबाहेक थप ७० लाख रुपैयाँ विनियोजन गरिएको छ। व्यवसायिक कृषकलाई दुग्ध, चल्ला तथा पशुपालनमा अनुदानको व्यवस्था गरिएको छ।
स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले सबै नागरिकको स्वास्थ्य बीमा प्रिमियममा शतप्रतिशत अनुदान दिने व्यवस्था गरेको छ। स्वास्थ्य बीमा अनुदानसहित स्वास्थ्य क्षेत्रमा ९० लाख रुपैयाँ विनियोजन गरिएको छ। घान्द्रुक स्वास्थ्य चौकीमा सुविधा सम्पन्न प्रयोगशाला स्थापना गरिने तथा महिला स्वास्थ्य स्वयंसेविकाको यातायात भत्ता वृद्धि गरिने बजेटमा उल्लेख छ।
शिक्षातर्फ विद्यालय कर्मचारी तथा बालविकास सहजकर्तालाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन एक करोड ५५ लाख रुपैयाँ, शैक्षिक क्षेत्र विकास कार्यक्रमका लागि २५ लाख रुपैयाँ तथा एसईईमा शतप्रतिशत नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरूप ५ लाख रुपैयाँ छुट्याइएको छ। विद्यार्थी दिवा खाजा कार्यक्रमका लागि थप २२ लाख ५० हजार रुपैयाँ व्यवस्था गरिएको छ।
पर्यटन प्रवद्र्धनका लागि होमस्टे कार्यक्रम, घान्द्रुक पर्यटन महोत्सव, अन्नपूर्ण म्याराथन, हनी हन्टिङ महोत्सव, कोदो महोत्सव, फागु महोत्सवलगायत विभिन्न सांस्कृतिक तथा पर्यटन गतिविधिलाई बजेटमार्फत सम्बोधन गरिएको छ।
त्यसैगरी ‘एक घर एक धारा’ अभियानका लागि ३० लाख रुपैयाँ, विपद् व्यवस्थापन कोषका लागि ५० लाख रुपैयाँ, फोहोरमैला प्रशोधन केन्द्र स्थापनाका लागि १० लाख रुपैयाँ तथा मानव संसाधन विकास, सुशासन र सेवा प्रवाह सुधारका लागि ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
गाउँपालिकाले युवा पलायन रोक्दै रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, पर्यटन विस्तार र गुणस्तरीय पूर्वाधार निर्माणमार्फत ‘समृद्ध अन्नपूर्ण, सुखी अन्नपूर्णबासी’ अभियानलाई सार्थक बनाउने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताउनुभयो ।
