कास्की सार्दीखोला समाज कतारद्वारा ब्रेन ट्युमर पीडित पौडेललाई आर्थिक सहयोग

हिमाली आवाज । माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोला निवासी ब्रेन ट्युमरबाट पीडित भरतराज पौडेलको उपचारमा सहयोग पु¥याउने उद्देश्यले कास्की सार्दीखोला समाज कतारले नगद रु २५ हजार आर्थिक सहयोग प्रदान गरेको छ ।

साविक सार्दिखोला, माछापुच्छ्रे–२ का स्थायी बासिन्दा भई हाल कतारमा कार्यरत नेपालीहरूको साझा संस्था कास्की सार्दीखोला समाज कतारका सदस्यहरूले आफ्नो श्रमबाट आर्जित रकम संकलन गरी उक्त सहयोग उपलब्ध गराएका हुन्। समाजले स्थापना कालदेखि नै विपद्, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा निरन्तर मानवीय सहयोग गर्दै आएको छ।

त्यसै अवसरमा विगत ७–८ महिनादेखि मिर्गौला रोगबाट पीडित माछापुच्छ्रे–२ खैमर्याङ निवासी नानीमाया तामाङका श्रीमान् दिलबहादुर तामाङलाई पनि समाजका नेपालस्थित प्रतिनिधि, पूर्व पदाधिकारी तथा वर्तमान सल्लाहकारहरूको पहलमा रु २५ हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

ब्रेन ट्युमर पीडित भरतराज पौडेलको निवासमै पुगेर सहयोग रकम हस्तान्तरण गरिएको थियो। समाजका संस्थापक अध्यक्ष सृजन तामाङ र वर्तमान अध्यक्ष पदम गुरुङको नेतृत्वमा संस्था सामाजिक सेवाका विभिन्न गतिविधिमा सक्रिय रहँदै आएको छ।

विसं २०७९ साल वैशाख २३ गते सेती नदीमा आएको बेमौसमी बाढी तथा विपद्पछिको राहत तथा सहयोग अभियानलाई केन्द्रमा राखेर स्थापना भएको कास्की सार्दीखोला समाज कतारले त्यसयता विपद्मा परेका परिवार, स्वास्थ्य उपचार तथा शैक्षिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको छ।

यस मानवीय सहयोगप्रति श्री विन्ध्यवासिनी युवा क्लब, माछापुच्छ्रे–२ बाँझोखेतका अध्यक्ष किशोरप्रसाद गौतमले समाजप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ । उहाँले कठिन परिस्थितिमा प्रदान गरिएको सहयोगले बिरामी र परिवारलाई ठूलो हौसला तथा राहत मिलेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै साथ, सहयोग र सद्भावको अपेक्षा व्यक्त गर्नुभयो ।

गौतमले भन्नुभयो, “मानव सेवाभन्दा ठूलो धर्म अरू छैन। तपाईंहरूको अमूल्य सहयोगले एउटा परिवारलाई नयाँ आशा दिएको छ। कठिन परिस्थितिमा दिनुभएको साथ र सहयोग सदैव स्मरणीय रहनेछ।”

Comments
Loading...