हिमाली आवाज । यस वर्षको श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार मानव सेवा आश्रमलाई प्रदान गरिने भएको छ ।
श्रीपति कोइराला गुठी पोखराले स्थापना गरेको यस पुरस्कार राशी नगद रु दुई लाख २२ हजार २२२ रहेको छ । गुठीले आज श्रीपतिको २१९ औँ जन्म दिन पारेर पोखरामा कार्यक्रम आयोजना गरी पुरस्कार घोषणा गरेको हो ।
गुठीका अध्यक्ष फणिन्द्रराज कोइरालाले मानविय सेवामा देशभर क्रियाशील रहेको मानव सेवा आश्रमलाई पुरस्कार प्रदान गर्नका लागि छनोट समितिको सिफारिस अनुसार निर्णय गरिएको बताउनुभयो ।
उहाँका अनुसार स्व. श्रीपतिको स्मृति र सम्मान राष्ट्रिय स्तरमा फैलाउने उदेश्य अनरुप नेपालभर रहेर उत्कृष्ठ समाज सेवा गरी उल्लेख्य योगदान पु¥याउने संस्था तथा व्यक्तिलाई हरेक वर्ष पुरस्कार प्रदान गर्ने गरिएको छ ।
मानवसेवा आश्रमले विगत १३ वर्षदेखी खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षीहरुको हितका काम गर्दै आएको छ ।
आश्रमले बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित भई तिनीहरूको मानवोचित व्यवस्थापन गरी समाज सेवामा विशिष्ट पहिचान स्थापित गरेको छ । मकवानपुरमा केन्द्रीय कार्यालय रहेको आश्रमको हाल देशका २३ जिल्लामा ३४ सेवा केन्द्र मार्फत करिब दुई हजार दुई सय जनालाई सेवा प्रदान गरेको छ ।

गुठीले विसं २०७९ देखी यो पुरस्कार प्रदान गर्दै आएको छ । पहिलोपटक माईती नेपाललाई प्रदान गरी सुरुआत गरिएको थियो । त्यसपछि राष्ट्रिय आविस्कार केन्द्र काठमाडौँ, पद्यम भुवनेश्वरी नमुना सेवाश्रम सर्लाही, विन्दवासिनी धार्मिक क्षेत्र विकास समिति पोखरा र गत वर्ष तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँका निर्देशक डा. सन्दुक रुइत सम्मानित हुनुभएको छ ।
पोखरा–४ गैहपाटनमा विसं १८६४ असार २७ गते जन्मिनुभएका श्रीपतिले अध्यननको शिलशिलामा भारत बनारसमा ज्योतिषशास्त्र, धर्मशास्त्र तन्त्रविद्या, आर्युर्वेद लगाएतको उच्चशिक्षा अध्ययन गर्नुभई सरकारी जागिरको साथ साथै धार्मिक तथा समाजसेवा र मानवकल्याणमा आफ्नो जीवन व्यतित गर्नुभएको थियो ।
उहाँले पोखरा र पर्वतमा जग्गा खरिद गरि पाटीपौवा, मन्दिर स्थापना गरी साधुसन्त बटुवा र सन्यासिका लागि बाटो, चौतारा, पौवा समेत बनाउनु भएको गुठीका सचिव नवराज कोइरालाले जानकारी दिनुभयो ।
स्व श्रीपतिले स्थापना गरेका मन्दिर पौवा र ऐतिहासिक विरासतलाई संरक्षण गर्दै उहाँको मानव कल्याणको अभियानलाई जिवन्त वनाई राख्ने उदेश्यले विभिन्न विधामा पुरस्कार छात्रवृत्ति, आर्थिक सहयोगका कार्यक्रमहरु गुठीले गर्दै आएको छ ।
छनोट समितिका सदस्य प्राडा दिलबहादुर क्षेत्रीले स्व श्रीपतिले समाज सेवाका लागि उदार मन र भावनका साथ गरेको कार्यको उहाँका सन्ततिहरुले अनुसरण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कोइराला समाजका केन्द्रीय अध्यक्ष कृष्णमुरारी कोइराला, केन्द्रीय उपाध्यक्ष लक्ष्मण कोइराला, कास्कीका अध्यक्ष कृष्ण प्रसाद कोइराला लगायतले भनाई राख्नुभयो ।
