हिमाली आवाज । कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्थित नयाँपुल–वीरेठाँटी–घान्द्रुक सडकअन्तर्गत सेउलीबजारमा पहिरोका कारण अवरुद्ध भएको सडकखण्ड अस्थायी रूपमा सञ्चालनमा आएको छ। सडक खुलेसँगै घान्द्रुक क्षेत्रमा रोकिएका स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षित रूपमा फिर्ता गरिएको छ।
निरन्तर वर्षाका कारण मोदी खोलाको बहाव अझै उच्च रहेकाले जोखिम कायमै रहेको स्थानीय प्रशासनले जनाएको छ। त्यसैले अत्यावश्यक बाहेक यात्रा नगर्न, विशेषगरी रातिको समयमा यात्रा नगर्न तथा सम्बन्धित निकायले जारी गरेका सूचना र सतर्कता अपनाउन आग्रह गरिएको छ।
अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले पर्यटकलाई सुरक्षित रूपमा उद्धार गरी गन्तव्यतर्फ फर्काउन सफल भएको भन्दै अहिले पनि जोखिम पूर्ण रूपमा टरिनसकेको बताउनुभयो । उहाँले भन्नुभयो,“सेउलीबजारमा अवरुद्ध सडक अस्थायी रूपमा सञ्चालनमा आएपछि घान्द्रुक क्षेत्रमा रोकिएका सबै पर्यटकलाई सकुशल फिर्ता गराइएको छ। तर निरन्तर वर्षा भइरहेकाले मोदी खोलाको बहाव उच्च छ। त्यसैले मौसममा सुधार नआएसम्म सबैलाई उच्च सतर्कता अपनाउन, अनावश्यक यात्रा नगर्न र विशेषगरी रातिको समयमा यात्रा नगर्न आग्रह गर्दछु।“

अध्यक्ष केसीले अवरुद्ध सडक खुलाउने तथा उद्धार कार्यमा खटिएका सबै निकायको सक्रियताप्रति धन्यवाद व्यक्त गर्दै प्रदेश सरकार, प्रदेशसभा सदस्य, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, उपल्लो मोदी जलविद्युत् आयोजना, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, स्थानीय जनप्रतिनिधि तथा स्थानीय समुदायको समन्वय र सहकार्यका कारण उद्धार तथा सडक सञ्चालनको काम सम्भव भएको बताउनुभयो ।
अन्नपूर्ण पदमार्ग क्षेत्रमा अझै पनि बाढी–पहिरोको जोखिम कायम रहेकाले मौसममा सुधार नआएसम्म पर्यटक, स्थानीयवासी तथा सवारी चालकलाई उच्च सतर्कता अपनाउन प्रशासनले पुनः अनुरोध गरेको छ।
