हिमाली आवाज । आन्तरिक राजस्व कार्यालय पोखरा परिसरमा निःशुल्क करदाता सहायता कक्ष पुनः सञ्चालनमा आएको छ ।
गत वर्ष भदौ २४ गतेको नयाँपुस्ताको आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको सो संरचना आज आर्थिक वर्ष २०८३÷८४ को पहिलो दिनदेखी सञ्चालमा ल्याइएको हो ।
पोखरा उद्योग वाणिज्य संघले जर्मन सहयोग संस्था जीआइजेडको दीगो विकासका लागि राजश्व सुधार परियोजना अन्तर्गत विसं २०८१ मा सो करदाता सहायता कक्ष बनाएको थियो ।
आगजनीका क्रममा आन्तरिक राजस्व कार्यालयसँगै पूर्णरूपमा नष्ट भएको सहायता कक्ष त्यसपछि केही समय सेवा अवरुद्ध भए पनि पोखरा उद्योग वाणिज्य संघले अस्थायी रूपमा सेवा सञ्चालन गर्दै आएको थियो। अहिले जीआइजेडको सहयोगमा पहिलेभन्दा थप सुविधासम्पन्न र व्यवस्थित कक्ष पुनः सञ्चालनमा ल्याइएको हो ।
कक्षको उद्घाटन गर्नुहुँदै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले करदाता सहायता कक्षले नागरिकलाई सहज, सरल र प्रविधिमैत्री रूपमा करसम्बन्धी सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।“कर प्रशासनलाई थप नागरिकमैत्री बनाउन यस्ता पहल प्रभावकारी हुन्छ । ” प्रजिअ गुरुङले भन्नुभयो ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले कर सहायता कक्ष सञ्चालन भएको १२३ दिनमै आगजनीबाट नष्ट भएको घटना स्मरण गर्दै सार्वजनिक सम्पत्ति जलाउँदा कसैलाई फाइदा नपुगेको, बरु सेवाग्राही नागरिकले दुःख पाएको बताउनुभयो ।

उहाँका अनुसार नयाँ सहायता कक्षमा पाँच वटा कम्प्युटर, प्रिन्टर, डिस्प्ले बोर्ड लगायतका आवश्यक सामग्री जडान गरिएको छ । साथै संघले एक जना कर्मचारीको व्यवस्था गरेको छ जसमार्फत करदाता दर्ता, नवीकरण, कर चुक्ता, कर शिक्षा तथा परामर्शलगायतका सेवा निःशुल्क उपलब्ध गराइनेछ ।
नेपालस्थित जर्मन राजदूतावासका प्रतिनिधि बेञ्जामिन साइडरले कर संकलन राष्ट्र निर्माणको आधार भएको उल्लेख गर्दै कर तिर्नु प्रत्येक नागरिकको दायित्व भएको बताउनुभयो । कर प्रशासनलाई अझ नागरिकमैत्री बनाउन सरकार, निजी क्षेत्र, विकास साझेदार र नागरिक समाजबीचको सहकार्य आवश्यक रहेको उहाँको भनाई छ ।
जीआइजेडका प्रतिनिधि मेन्दी राजा रिज्वीले संस्था कर सहायता कक्षको स्थापना मात्र नभई कर शिक्षा र जनचेतनामूलक कार्यक्रममार्फत पनि सहयोग गर्दै आएको जानकारी दिनुभयो ।
आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख शिवप्रसाद ढुंगानाले करदाताले सहज रूपमा सेवा पाउने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको बताउँदै सरकारले हाल विभिन्न क्षेत्रमा दिएको कर छुटको सुविधाको अधिकतम उपयोग गर्न करदातालाई आग्रह गर्नुभयो ।
पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमका अनुसार सहायता कक्षबाट करदाताले आफ्ना आवश्यक कागजात अनलाइनमार्फत खोज्न, प्रिन्ट गर्न, कर विवरण भर्न तथा अन्य विद्युतीय कर सेवाहरू सहज रूपमा लिन सक्नेछन् ।
