हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङमा सञ्चालित अपर मर्दी जलविद्युत् आयोजनाले स्थानीय समुदायसँग गरेको प्रतिबद्धता एक दशकपछि कार्यान्वयन गर्न थालेको छ। आयोजनाको प्रवर्द्धक युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत स्थानीय पूर्वाधार र शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरेको हो।
आयोजनाले कसिङ्ग खोलामा पक्की मोटरेबल पुल निर्माण सम्पन्न गरेको छ। साथै, सरस्वती आधारभूत विद्यालय र गौरीशंकर मनिलाल माध्यमिक विद्यालयलाई निमावि र मावि शिक्षक अनुदान उपलब्ध गराएको छ। यससँगै लाङ्दीदेखि आँख्लेतरासम्मको सडक स्तरोन्नतिको काम पनि सुरु गरिएको सिदिङ युनाइटेड युवा क्लबका सचिव प्रज्वल क्षेत्रीले जानकारी दिनुभयाे ।
उहाँका अनुसार आयोजना निर्माण सुरु भएको २०७२ सालमै स्थानीय समुदायको विकासका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न योजना कार्यान्वयन गर्ने सहमति भएको थियो। तर लामो समयसम्म ती प्रतिबद्धता कार्यान्वयन नभएपछि स्थानीयले पटक–पटक दबाब दिएका थिए।

“२०७२ मा आयोजना सुरु गर्दा नै स्थानीय विकासका काम गर्ने सम्झौता भएको थियो। लामो समयसम्म काम नभएपछि हामीले दबाब बढायौं। ढिलै भए पनि अहिले सम्झौताअनुसार काम सुरु भएकोमा स्थानीय खुशी छन्,” सचिव क्षेत्रीले हिमाली आवाजसँग भन्नुभयाे ।
स्थानीयवासीले आफूहरू विकासको विरोधी नभई दिगो, पारदर्शी र समुदायमैत्री विकासको पक्षमा रहेको बताएका छन्। गत वर्ष मंसिरमा सिदिङ युनाइटेड युवा क्लबको नेतृत्वमा स्थानीयले आयोजनाको प्रवर्द्धक कम्पनीलाई ज्ञापनपत्र बुझाएका थिए। आफ्ना माग सम्बोधन नभए आयोजनाको पानी नै बन्द गर्ने चेतावनी दिएपछि कम्पनीले सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको थियो। त्यसपछि सामाजिक उत्तरदायित्वअन्तर्गतका कामहरू अघि बढाइएको हो।
आयोजनाका पब्लिक रिलेसन अफिसर बैकुण्ठनाथ सुवेदीले स्थानीयसँग भएको सम्झौताअनुसार नै काम भइरहेको बताउनुभयाे। सामाजिक उत्तरदायित्वअन्तर्गत त्यस क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण तथा शैक्षिक क्षेत्रमा सहयोगलाई प्राथमिकता दिइएको उनले उल्लेख गर्नुभयाे ।
यता माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र)ले ढिलै भए पनि आयोजनाले प्रतिबद्धता पूरा गर्न थालेकोमा सन्तोष व्यक्त गर्नुभयाे । उहाँले आयोजनाको पेनस्टक पाइप जडानका क्रममा क्षति पुगेको झोलुङ्गे पुलको स्थानान्तरण पनि कम्पनीले छिट्टै गर्नुपर्ने बताउनुभयाे ।
“कसिङ्ग खोलामा बनेको पक्की मोटरेबल पुलले मर्दी पदयात्रामा आउने पर्यटक र स्थानीयलाई ठूलो सहजता दिएको छ। ढिलै भए पनि आयोजनाले आफ्नो उत्तरदायित्वअनुसार काम थालेको छ। बाँकी काम पनि छिट्टै सम्पन्न होस् भन्ने हाम्रो अपेक्षा छ,” वडाध्यक्ष क्षेत्रीले भन्नुभयाे ।
स्थानीयवासीका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत सुरु भएका यी कामले सिदिङ क्षेत्रको विकासमा नयाँ आशा जगाएको छ भने आयोजना र स्थानीय समुदायबीचको सम्बन्ध पनि थप सुदृढ हुने अपेक्षा गरिएको छ।
