कांग्रेसले ‘ग्रिन रन’ आयोजना गर्दै

हिमाली आवाज । नेपाली काँग्रेसले जननायक विपी कोइरालाको ४४औँ स्मृति दिवसका असरमा यही साउन ६ र ७ गते विभिन्न कार्यक्रमहरू आयोजना गर्दैछ ।

यसै सन्दर्भमा कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु जनचेतना जगाउन यही साउन ६ गते बिहान काठमाडौँ उपत्यकामा ‘ग्रिन रन’ आयोजना गर्ने भएको छ ।

कांग्रेसद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले ‘जलवायु जनचेतना जगाउन जुटौँ’ नाराका साथ पाँच किमी दौड आयोजना गर्न लागेको जानकारी दिनुभयो । “दौड लगत्तै जावलाखेल चोक, फाल्चामा ‘जलवायु परिवर्तनको चुनौती ः निराकरण कसरी’ शीर्षकमा विज्ञहरूसहितको समूहगत छलफल हुनेछ,” उपसभापति शर्माले भन्नुभयो, “समूहगत छलफल चलिरहँदा, सोही स्थलमा जलवायु परिवर्तनका चुनौती र सम्भावना झल्काउने चित्रहरू सुपरिचित चित्रकारहरूद्वारा पेन्टिङ गरिनेछन् ।

यसैगरी साउन ७ गते पार्टीको नवीन अभियान घोषणा सहितको कार्यक्रम हुनेछ । काँग्रेसले ‘ग्रीन रन’ मा सहभागी हुनेको सङ्ख्याका आधारमा प्रतिव्यक्ति निश्चित रकम आफ्नो कोषबाट रकम जम्मा गरेर एक ‘मानवीय सहयोग कोष’ खडा गर्ने जनाएको छ । सो कोषको रकम पछिल्लो समय विस्थापित गरिएका सुकुम्वासी परिवारका वृद्ध र बालबालिकाको हितमा खर्च गरिने उहाँले उल्लेख गर्नुभयो ।

यसैगरी पार्टीले सोही दिन राष्ट्रिय सभागृहमा ‘नवीन परिस्थिति: नवीन सङ्कल्प, नवीन अभियान’ विषयक विचार गोष्ठी आयोजना गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सञ्चारकर्मीको जिज्ञासामा उपसभापति शर्माले पार्टीको आगामी १५औँ महाधिवेशनमा सबैलाई सहभागी गराएर जाने कुराले सार्थकता पाउने बताउनुभयो ।

त्यस्तै प्रदेश सरकारमा सहकार्य गर्ने बारेमा समेत छलफल भइरहेको बताउँदै उहाँले कुनै पनि संसद् प्रतिपक्ष विहीन हुन नहुने उल्लेख गर्नुभयो ।

Comments
Loading...