हिमाली आवाज । बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापालाई मोबाइल नदिएको निहुँमा उनकै साथीहरूले कुटपिट गरी हत्या गरेको खुलेको छ ।
यही साउन १ गते सोही ठाउँका असिम वनको जन्मदिन मनाउन गएका थापाको बिहीबार स्थानीय मनखोलामा शव फेला परेको थियो । घटनामा संलग्न रहेको आरोपमा २० वर्षीय रेमबहादुर विक, १९ वर्षीय सुदीप विक, १६ वर्षीय असिम वन र १५ वर्षीय ददी परियारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जन्मदिन मनाउने क्रममा साथीहरू मिलेर राति अबेरसम्म मदिरा सेवन गरेको र घर फर्कने क्रममा मोबाइलका विषयमा झगडा हुँदा कुटपिट गरीको थापाको हत्या गरिएको पाइएको कार्यालयका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईँले बताउनुभयो ।
“लजिन थापासँग रहेको आइफोन मोबाइल माग्दा नदिएपछि उनीहरूबिच एकापसमा झगडा भएको देखिन्छ”, उहाँले भन्नुभयो, “कुटपिटबाट बेहोस भएका लजिनको मृत्यु भएपछि घटनास्थलदेखि झण्डै आधा घण्टा दूरीमा शव लुकाएर राखेको अवस्था भेटिएको छ ।”
जन्मदिन मनाउने क्रममा सात जना रहे पनि अरू घरतर्फ लागेपछि रेमबहादुर र ददी लजिन थापालाई पछ्याउँदै गएर एकान्तस्थलमा पुगी आक्रमण गरेको प्रहरी उपरीक्षक प्रसाईँले बताउनुभयो । साउन १ गत राति २ः३० बजेसम्म लजिनका साथीहरू मिलेर स्थानीय दगातुम्डाँडा प्राथमिक विद्यालयमा बसी मदिरा सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँको भनाइ छ । जन्मदिन मनाउने क्रममा एक जना नौ वर्षीय बालकसमेत सहभागी रहेको प्रहरीले जनाएको छ ।
