हिमाली आवाज
पोखरा, साउन १५ – कालिका बहुमुखी क्याम्पस, पोखराको शिक्षा विभागले बि.एड. चौथो वर्षका विद्यार्थीलाई बिदाइ तथा उज्ज्वल भविष्यको शुभकामना दिएको छ। बि.एड. तेस्रो वर्षका विद्यार्थीको आयोजनामा शुक्रबार सम्पन्न कार्यक्रममा एक सयभन्दा बढी विद्यार्थी, प्राध्यापक तथा कर्मचारीको सहभागिता रहेको थियो।
शिक्षा विभाग प्रमुख लोकनाथ सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख प्रा. बिरञ्जी गौतम प्रमुख अतिथि रहनुभएको थियो। सहायक क्याम्पस प्रमुखद्वय शालिकराम तिमिल्सिना र युवराज गुरुङ, व्यवस्थापन विभाग प्रमुख सन्तोषमणि लामिछानेलगायत विभिन्न विभागका प्राध्यापक तथा कर्मचारीको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख गौतमले शिक्षण पेशा केवल रोजगारीको माध्यम नभई राष्ट्र निर्माण र समाज रूपान्तरणको आधार भएको बताउनुभयो। शिक्षकले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै असल चरित्र, नैतिक मूल्य, सिर्जनशील सोच, नेतृत्व क्षमता र मानवीय संवेदनशीलताको विकास गराउनुपर्ने उहाँको भनाइ थियो।
उहाँले भन्नुभयो, “आज तपाईंहरू विद्यार्थीका रूपमा बिदा हुँदै हुनुहुन्छ, तर भोलि समाजले तपाईंहरूलाई शिक्षकका रूपमा चिन्नेछ । त्यसैले जहाँ जानुहुन्छ, त्यहाँ ज्ञान, अनुशासन, इमानदारी, समर्पण र सेवाभावलाई आफ्नो पहिचान बनाउनुहोस् । असल शिक्षकले एउटा कक्षा मात्र होइन, सम्पूर्ण समाजलाई परिवर्तन गर्ने क्षमता राख्छ ।“
उहाँले बि.एड. अध्ययनलाई अन्तिम उपलब्धिका रूपमा नलिई स्नातकोत्तर, एमफिल, विद्यावारिधि तथा अनुसन्धानमूलक अध्ययनतर्फ अघि बढ्न विद्यार्थीलाई आग्रह गर्नुभयो। सूचना प्रविधि, अनुसन्धान र व्यवहारिक शिक्षण पद्धतिमा दक्ष हुँदै समयअनुकूल शिक्षक बन्नुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रमका अध्यक्ष तथा शिक्षा विभाग प्रमुख सुवेदीले सिकाइ जीवनभर चलिरहने प्रक्रिया भएकाले निरन्तर अध्ययन र आत्मविकासमा लागिरहन विद्यार्थीलाई आग्रह गर्नुभयो। उहाँले ‘Education for Emergency’ वर्तमान शिक्षाको महत्वपूर्ण अवधारणा भएको उल्लेख गर्दै जुनसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि शिक्षाको निरन्तरता सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। साथै अग्रजप्रति सम्मान प्रकट गर्दै कार्यक्रम आयोजना गरेकोमा तेस्रो वर्षका विद्यार्थीको प्रशंसा गर्नुभयो।
चौथो वर्षका विद्यार्थीका तर्फबाट मन्तव्य राख्दै टीका कुमारी घर्ती मगरले कालिका बहुमुखी क्याम्पसमा बिताएको करिब छ वर्ष आफ्नो जीवनको महत्वपूर्ण र अविस्मरणीय यात्रा भएको बताउनुभयो। उहाँले क्याम्पस, शिक्षा विभाग, प्राध्यापक तथा कनिष्ठ विद्यार्थीबाट प्राप्त सम्मानले भविष्यमा अझ जिम्मेवार र समर्पित शिक्षक बन्न प्रेरणा मिलेको उल्लेख गर्नुभयो।
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य, बिदाइ गीत तथा शुभकामना प्रस्तुत गरेका थिए। तेस्रो वर्षका विद्यार्थीले चौथो वर्षका विद्यार्थीलाई मायाको चिनो प्रदान गरेका थिए। शुभकामना आदानप्रदान, सामूहिक तस्बिर र स्मरणीय क्षणहरूको समीक्षा गर्दै कार्यक्रम सम्पन्न भएको थियो।
सहभागीहरूले यस्ता कार्यक्रमले अग्रज–अनुज विद्यार्थीबीचको सम्बन्धलाई अझ आत्मीय बनाउनुका साथै गुरु–शिष्य परम्परा, पारस्परिक सम्मान, सहकार्य र संस्थाप्रतिको अपनत्वलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका थिए।
