हिमाली आवाज । कास्की जिल्लामा धार्मिक, जातीय एवं साम्प्रदायिक सद्भाव कायम राख्न सम्बद्ध सबै पक्षले सक्रिय पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीमा आज आयोजित सर्वपक्षीय समन्वय बैठकमा विभिन्न जातजाति, धर्म, संस्कृति र समुदायबीचको जीवन्त एकता र सामाजिक सद्भावलाई अझ दरिलो बनाउँदै यस्तो सद्भावलाई भड्काउने खालका कुनैपनि गतिविधिमा संलग्न नहुने प्रतिबद्धता गरिएको हो ।
यस्ता क्रियाकलापमा संलग्न जो कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सबै पक्षले स्थानीय प्रशासनलाई सहयोग गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बैठकले सार्वजनिकस्थलमा कार्यक्रम गर्नुअघि स्थानीय प्रशासनको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्थालाई कडाइपूर्वक पालना गर्ने निर्णय गरेको छ ।
यस्तै विभिन्न धार्मिक अगुवा, धर्मगुरुहरुले आ–आफ्नो धर्म, संस्कृतिअनुसार आयोजना गरिने कार्यक्रममा धार्मिक सहिष्णुता कायम राख्ने गरी प्रवचन दिन सबैमा आग्रह गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरुङको अध्यक्षतामा बसेको बैठकमा राजनीति दल, जनप्रतिनिधि, सुरक्षा निकाय, धार्मिक अगुवा, विभिन्न सङ्घसंस्था, नागरिक समाजलगायत सरोकार भएका पक्षहरुको सहभागिता रहेको थियो ।
