हेभी इक्युपमेन्टअपरेटर संघ कास्कीद्वारा क्षमता विकासमा जोड दिँदै भाषण कला तथा नेतृत्व विकास तालिम सम्पन्न

हिमाली आवाज ।  नेपाल हेभी इक्युपमेन्ट अपरेटर सङ्घ, कास्कीले सदस्यहरूको व्यक्तित्व तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको सात दिने भाषण कला तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ।

साउन १० गतेदेखि १६ गतेसम्म दैनिक साँझ ६ बजेदेखि ७ बजेसम्म  तालिम सञ्चालन गरिएको थियाे । तालिममा वरिष्ठ सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठले सातै दिन सहजीकरण गर्नुभएको थियो। भाषण कला, प्रभावकारी सञ्चार, सार्वजनिक प्रस्तुति, नेतृत्व विकास तथा व्यक्तित्व निर्माणका विविध पक्षमा केन्द्रित प्रशिक्षणले सहभागीहरूलाई व्यावहारिक ज्ञान र सीप प्रदान गरेको आयोजकले जनाएको छ।

समापन समारोहलाई सम्बोधन गर्दै प्रशिक्षक श्रेष्ठले सात दिनको तालिमलाई सिकाइको सुरुआतका रूपमा लिन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “यो त केवल जग हो। यसलाई अझ बलियो र उचाइमा पुर्‍याउने जिम्मेवारी अब तपाईँहरूकै हो। निरन्तर अभ्यास, अध्ययन र आत्मविश्वासले मात्रै सफल वक्ता र सक्षम नेतृत्व निर्माण हुन्छ। आवश्यक पर्दा म सधैं तपाईँहरूको साथमा रहनेछु।”

प्रशिक्षार्थीहरूको तर्फबाट अर्जुन आचार्य, विक्रम लामिछाने र विशाल पौडेलले तालिमबाट प्राप्त अनुभव सुनाउँदै यस्ता कार्यक्रमले आफूहरूमा आत्मविश्वास वृद्धि हुनुका साथै प्रभावकारी रूपमा बोल्ने, विचार प्रस्तुत गर्ने र नेतृत्वदायी भूमिका निर्वाह गर्ने क्षमता विकास गर्न महत्वपूर्ण सहयोग पुगेको बताउनुभयाे ।

तालिमको समापन समारोहमा नेपाल हेभी इक्युपमेन्ट अपरेटर सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष प्रेमबहादुर थापा मगर प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमको अध्यक्षता सङ्घका अध्यक्ष किशोरप्रसाद गौतमले गर्नुभएको थियो भने सञ्चालन सचिव कृष्णप्रसाद पौडेलले गर्नुभएको थियो।

प्रमुख अतिथि प्रेमबहादुर थापा मगरले सङ्घले आफ्ना सदस्यहरूको क्षमता विकासलाई प्राथमिकतामा राखेर सञ्चालन गरेको तालिमको प्रशंसा गर्दै संस्थाको समग्र विकासका लागि प्रदेश समितिको तर्फबाट आवश्यक सहयोग र सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अध्यक्ष किशोरप्रसाद गौतमले समापन मन्तव्यका क्रममा कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, प्रशिक्षक, सहभागी, सञ्चारकर्मी तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि अपरेटरहरूको व्यावसायिक दक्षता, नेतृत्व क्षमता र व्यक्तित्व विकासलाई केन्द्रमा राखी समयसापेक्ष तथा सीपमूलक कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। समापन समाराेहमा प्रशिक्षक श्रेष्ठलाइ सम्मानपत्र तथा दाेसल्लाबाट सम्मान गरिएकाे थियाे ।

नेपाल हेभी इक्युपमेन्ट अपरेटर सङ्घ, कास्कीका अनुसार उक्त सात दिने तालिमले सहभागीहरूको भाषण कला, सार्वजनिक प्रस्तुति, सञ्चार सीप, नेतृत्व क्षमता र व्यक्तित्व विकासमा उल्लेखनीय सकारात्मक प्रभाव पारेको छ। सङ्घले यस्ता क्षमता विकाससम्बन्धी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

Comments
Loading...